
काठमाडौं, असार १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गूटगत राजनीतिक चरम भएका बेला एकाएक नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा लगिएपछि राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ ।
एमाले दल दल दर्ताका लागि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै षडयन्त्र रहेको आरोप उहाँकै दलका सबैजसो शीर्ष नेताले लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकको मंगलबारको बैठक एकाएक नियमित कार्यसूचीभन्दा फरक विषयमा प्रवेश गर्दै निर्वाचन आयोगमा दर्ता गर्न खोजिएको एमाले दलका बरोमा खोजिनीति भयो ।
अध्यक्ष पुष्पकमल दाहालदेखि सबैजसो शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीसँग एमाले पार्टी कसले दर्ता गराउने षड्यन्त्र थालेको हो भन्दै प्रष्टीकरण माग्नुभयो ।
प्रधानमन्त्री ओलीले यसबारेमा आफूलाई थाहा नभएको प्रष्टीकरण दिएपनि झापा जिल्लाका सन्ध्या तिवारीको नामबाट दर्ताका लागि निवेदन दिएकाले यो काम ओलीबाटै भएको केही नेताले किटानी गर्नुभएको हो ।
केही समय अगाडी दल विभाजनका लागि अध्यादेश नै ल्याएका ओलीले नै दल दर्ताका लागि पठाएको आरोप आफ्नै सरकारी निकासको आँगनमा नेताहरुले एकपछि अर्को गर्दै लगाइरहे ।
नेता वामदेव गौतमले किटानीका साथ एमाले दर्ताको काम अध्यक्ष ओलीको निर्देशनमै भएको दाबी गर्नुभएको बैठकमा सहभागि एक नेताले बताए ।
अध्यक्ष दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले पनि बैठकमा ओलीको चर्को आलोचना गर्दै एमाले दर्ता गराउन खोजेकोमा आशंका व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्