१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओली चरमसंकटमा, प्रधानमन्त्री र अध्यक्ष दुबैपद त्याग्न बालुवाटारभित्रै दबाब


0
Shares

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओली चरमसंकटमा पर्नुभएको छ । प्रधानमन्त्री र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष दुबै पद त्याग्न उहाँमाथि तीब्र दबाब परेको छ ।

आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि संलग्न रहेको बताएको ४८ घण्टा पनि नबित्दै दुबै पद त्याग्न आफ्नै पार्टी नेकपाका नेताहरुले दबाब दिएका हुन् ।

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी रुपमा घेरिनुभएका ओलीमाथि निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता गराउन खोजेको गम्भीर आरोप समेत लागेको छ । र उहाँले त्यसको बचाउ गर्नुपरेको छ ।

तस्वीरः प्रधानमन्त्रीको सचिवालय ।

पार्टी स्थायी कमिटीको बालुवाटारमा जारी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताले एक स्वरमा दुबै पदबाट राजीनामा दिन ओलीलाई भन्नुभएको हो ।

बालुवाटार बैठकमा नेताहरुले बोलेको र भारतीय सञ्चारमाध्यममा आएका विषयहरु किन हुबहु मिलिरहेको छ भन्ने प्रतिप्रश्न गरेर मंगलबार आफ्नो छोटो अभिव्यक्ति सकाउनु भएका ओली बैठक छाडेर हिंडेपछि पनि उहाँमाथि अरु नेताहरुले लगातार प्रश्नको वर्षा गरिरहेका थिए ।

नियमित एजेण्डा नै फेरेर ओलीको अभिव्यक्तिमाथि केन्द्रित भएका नेताहरुले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्ति गम्भीर भएकाले पहिले त्यसमा प्रष्ट हुनुपर्ने भन्दै प्रश्नले घेरेका थिए ।

दाहालले ओलीको अभिव्यक्तिले नेपालको आत्मनिर्णयको अधिकारमा प्रश्न उब्जेको, पार्टी नेताहरुमाथि नै अविश्वास देखिएको, विदेश सम्बन्धमा प्रतिकूल असर पर्ने अवस्था भएको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले भने भारतको विरोध गर्दा पार्टीका नेताहरुको चित्त किन दुख्यो ? भन्ने प्रतिप्रश्न गर्नुभए पनि अरु नेताले ओलीका कारण सरकार र पार्टी दुबै कमजोर भएको भन्दै राजीनामा माग गरेका थिए ।

नेता झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा माग्दै के ओलीले हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गर्दै अब एकलौटी नचल्ने चेतावनी दिनुभएको थियो । पार्टीले हट् भनेमा खुरुक्क हट्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

नेता माधव नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै ओलीले पार्टीलाई गूटमा परिणत गरेको आरोप लगाउनुभएको थियो । पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको भन्दै उहाँले पार्टी सानो दुःखले बनाइएको होइन भन्ने बुझ्न चेतावनी दिनुभयो ।

नेता बामदेव गौतमले ओली अल्पमतमा परेको भन्दै खुरुक्क राजीनामा दिनुस् भन्नुभएको बैठकमा सहभागि एक नेताले बताए । ओलीबाट पार्टी र सरकार दुबै चल्न नसकेकाले निकास दिनुपर्ने नेताहरुको भनाइ थियो ।