२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि थापा फर्के दाहाल शिविरमा


13
Shares

NCP subas nembang prachanda

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउन भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ तरंग शुरु भएको छ ।

चरम राजनीतिक संघर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परिस्थिति यस्तो भएको छ कि नेताहरुले संयम देखाएनन् भने कुनैपनि बेला यो पार्टी दुई टुक्रामा चोइटिने छ ।

प्रधानमन्त्री ओली सरकार र पार्टी दुबै मोर्चामा असक्षम भएको भन्दै हटाउन दाहाल र नेपाल पक्षका नेताहरु लागेपछि ओलीले पनि नयाँ तुरुपका रुपमा नेम्बाङलाई अघि सार्नुभएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई दुबै मोर्चाबाट मिल्काउन कम्मर कसेका नेताहरु संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउने ओलीको यो प्रस्ताव सुनेर झस्किएको जनाइएको छ । ओलीको प्रस्तावमा दाहाल–नेपाल दुबै नेताले कुनै प्रतिक्रिया दिनुभएको छैन, स्रोत भन्छ ।

ओलीले प्रधानमन्त्रीका रुपमा नेम्वाङलाई अगाडि सारेपछि नेकपाको आन्तरिक गूटगत समीकरणमा पनि फेरबदल आएको छ । खासगरी लामो समयदेखि बिना शर्त प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै आउनुभएका गृहमन्त्री रामबहादुर थापा बिच्किनुभएको छ ।

उहाँ बुधबार बेलुकादेखि फेरि दाहाल–नेपाल शिविरमै फर्कनुका साथै ओलीबाट सरकार र पार्टी दुबै नचल्ने झम्सीखेल बैठकमा बताउनुभएको थियो ।

यस पटक ओलीलाई जसरीपनि हटाउने अभियानमा जुटेका दाहाल–नेपाल समूह भने ओलीका कुनै पनि प्रस्तावमा नअल्मलिने पक्षमा छन् ।

नेकपामा स्थायी समितिका ४५ मध्ये ३० सदस्य दाहाल–नेपाल खेमामा रहेकाले ओलीको तुलो कमजोर भएको छ ।