
काठमाडौं, असार १८ । चालू संसद बैठक एकाएक अन्त्य गरेर अध्यादेश ल्याउने संकेत प्रधानमन्त्री केपी ओलीले देखाएपछि आत्तिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो ।
शितल निवासको गेटबाट छिर्दाको दाहालको तातो मन मूल ढोकाबाट फर्कँदा पनि शितल हुन सकेन । बरु राष्ट्रपतिको हाउभाउले अन्तिममा उहाँले आफूलाई साथ नदिने पढेर दाहाल फर्केर फेरि स्थायी कमिटी बैठक चलिरहेको प्रधानमन्त्री निवास बालुवाटार पुग्नभयो ।
प्रधानमन्त्रीले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएमा तत्काल स्वीकृत नगरी रोक्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गरेको, जवाफमा राष्ट्रपतिबाट दुई जना मिल्नुस् भन्नुभएको वृत्तान्त दाहालले बैठकमा सुनाउनुभयो ।
राष्ट्रपतिलाई भेट्न जानुपूर्व प्रधानमन्त्रीसँग भेट गर्नुभएका दाहालले ओलीलाई गरेको ‘संसद अधिवेशन अन्त्य गरेर के दल विभाजनका लागि अध्यादेश ल्याउन खोज्नु भएको हो ?’ भन्ने प्रश्नमा ओलीले एक दुई दिन त ल्याउन्न भन्ने जवाफ दिएकाले उहाँको मन सन्न भएको हो ।
त्यसलगत्तै हतार हतार शितलनिवासमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन सक्ने भन्दै उजुरी गर्न पुग्नु भएका उहाँले राष्ट्रपतिले दुबै जना मिल्नुस् भन्नु भए पनि दाहाल–नेपाल–ओली मिलनको सूत्र फेला परेको छैन ।
यस्तोमा दाहाललाई कतै ओलीले संसदलाई छलेर अध्यादेश ल्याएर दल विभाजन पो गर्ने हो कि भन्ने चिसो पसेको होे ।
आन्तरिक राजनीतिक खिंचातानीमा फसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली एकातर्फ तथा अर्का अध्यक्ष दाहाल, माधव नेपालसहितका नेताहरु अर्को शिविरमा बसेर आ–आफ्नो पल्ला भारी बनाउन कस्सिएर लागेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले पार्टी र सरकार दुबै अलोकप्रिय भएको, कूटनीतिक सम्बन्धमा दरार आएको, दम्भ र अहंकार बढेको जस्तो आरोप लगाएर जारी स्थायी कमिटी बैठकमा दुबै पदबाट राजीनामा गर्न दाहाल–नेपाल खेमाले दबाब दिएका छन् ।
नेकपा सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा सकेत अल्पमतमा परेपछि ओलीमाथि पद त्याग्न दबाब बढेको छ । तर ओलीले पनि सहजै पद नत्याग्ने बरु परेको ब्यहोर्ने भन्दै सम्भावित सबै नाकाहरु खुल्ला गरेर बस्नु भएको छ ।
त्यसैका लागि नै संसद बैठक स्थगित गरेर आवश्यक पर्दा अध्यादेश ल्याएर भए पनि पार्टी विभाजनसम्म पनि गर्न खोजेको आरोप ओलीमाथि लगाइएको छ ।
यद्यपि, स्थायी कमिटी बैठकपछि नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्री दुबै जनाले अध्यादेश नल्याउने बचन दाहाललाई दिएको भनेर प्रतिक्रिया दिनुभएको छ ।
यसअघि दलभित्र आफूविरुद्ध यसैगरी राजीनामाको दबाब बढ्दा प्रधानमन्त्री ओलीले वैशाख दोस्रो साता पनि राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याउनु भएकाले दाहाल झस्किनुभएको हो ।
दाहाल–नेपाल खेमामा प्रधानमन्त्रीले संसद बैठक अन्त्यका लागि सिफारिश गर्दा होस् वा अघिल्लो पटक विरोध हुँदहुँदै पनि लगेका अध्यादेश हतारहतारमै राष्ट्रपतिबाट स्वीकृत भएकाले यस पटक पनि राष्ट्रपति भण्डारी ओलीकै इशारामा चल्ने आशंका छ ।
त्यसैले पनि दाहाल आफ्नो खेमाको सल्लाहमै शितलनिवासमा एक ढंगको खबरदारी गर्न जानुभएको थियो ।
यता, बैठकमा भने अध्यक्ष दाहालले भने स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा औल्याउँदै जस्तोसुकै परिस्थितिका लागि तयार रहन नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
संसद बैठक स्थगित गर्ने सरकारको निर्णय आएपछि दाहालले पार्टी एकता गम्भीर संकटमा परेको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले संसद अधिवेशन पनि अर्का अध्यक्ष दाहालसँगको समझदारीविपरीत अन्त्य गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बिहीबार विहान प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिपरिषद बैठक नगर्ने र संसद अधिवेशन अन्त्य नगर्ने समझदारी भएको दाबी श्रेष्ठको थियो ।
स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्