
राजन कुईंकेल ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वयंले गरेका छन् भने अर्को कित्तामा दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल देखिएका छन् । त्यसका पछाडी उनीहरुका सेनामेना त छँदैछन् । अहिलेसम्मको विकासक्रम हेर्दा नेकपा नामक शिशाको घर कुनै पनि बेला चकनाचूर भएर चूर्णचूर्ण हुने प्रतीक्षामा दुबै मोर्चाका युद्ध सरदारहरु छन् ।
सामान्य आंकलन र नेकपाभित्रको राजनीति सरसर्ती नियाल्ने हो भने यो पार्टी सत्ता र राज्य सत्ताको भोगमा एकलौटी गर्ने र भोगाधिकारबाट बाहिर रहने पक्षको बीचको छटपटी जस्तो देखिन्छ । २०७४ सालको आम निर्वाचनमा जसरी पनि सत्ता पुग्नका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन बनाए । निर्वाचनपछि बन्ने संसदको गणितीय खेलमा कुनै हालतमा सत्तामा पुग्नैपर्ने र कांग्रेसलाई सत्ताबाट बहिर्गमन गराउने एक मात्र लक्ष बोकेर यो लोभीपापी गठबन्धन बनाइएको थियो ।
अर्कातिर नेपालमा कम्युनिष्टको झण्डा फहरिएको राज्यसत्ता भएको हेर्न चाहने चिनियाँ चासोले दुई पार्टीबीच गठबन्धन र निर्वाचनपछि एकीकरण गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । चिनियाँ सत्ताको प्रोत्साहन, लगानी र विचारमा गठबन्धनदेखि एकीकरणसम्म गरिए पनि नेताहरुको सोच र शैली त उही नेपाली पाराकै थियो । न त सामूहिक नेतृत्वको संस्कार, न त एकापसमा आदर !

सत्ताको लोभ यतिसम्मको थियो कि पार्टी एकीकरण जस्तो विषयमा विचार, सिद्धान्त, सांगठनिक स्वरुप निर्माणको प्रश्न गौण बनाइयो । एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल दुबै जना अध्यक्ष रहने घोषणा गरियो । समान हैसियतमा रहेका पार्टीका अरु नेताको सामान्य अस्तित्वसम्म पनि स्वीकारिएन । दुई जनालाई अध्यक्ष स्वीकारेर हतार हतारमा पार्टी एकताको औपचारिक घोषणा त गरियो । तर संगठनको कुनै पनि स्वरुप केन्द्रदेखि तल्लो तहसम्म पनि बनेन । जुन आजसम्म पनि बन्न सकेको छैन । पार्टी एकता घोषणा गरेको तीन वर्षसम्म पनि विचार, संगठन र सिद्धान्त नै लथालिंग छ ।
यो पढ्न नछुटाउनु होला,
सत्तामा एकमना सोच राखेकै कारण ओलीविरुद्ध उत्रिनु परेको दाबी दाहाल पक्षले गरिरहेका छन् । तर उनैले तिनै ओलीसँग मिलेर पार्टीभित्र आफू बलियो बन्न माधव नेपाल पक्षको समूल नष्ट गर्ने अभियान नै छेडेका थिए । ओलीका लागि नेपाल त वर्गीय दूष्मन नै थिए । माधव नेपाललाई सास फेर्ने ठाउँसम्म नदिने गरी लखेट्दा उनले पटक पटक नोट अफ डिसेन्ट लेख्नु परेको थियो । तर जब ओलीले आफूसँग गरेका सहमति पालना गर्न छाडे तब दाहाल संकटमा पर्न थाले र फेरि नेपालतिर टाँसिएर ओलीविरुद्ध ब्यूह रचनामा जुटेका छन् । पूर्व एमालेमा रहेका भीम रावललगायतका केही नेता भने ओलीले गरेको अपमानको बदला लिने मौकाका रुपमा यस अवसरलाई लिन खोजिरहेका छन् ।
बैशाखमा झण्डै सत्ता गुमाउने अवस्थामा पुगेका ओलीलाई अहिले त्योभन्दा गाह्रो खड्गो तेर्सिएको छ । आफ्नै सरकारी आँगनमा गरिएको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांशले उछित्तो काँढेर, शिष्टाचार नामक पर्दाको सामान्य झिल्ली पनि उतारेर गरिएका आफ्नो आलोचना सुन्न विवश छन् । उनी गर या मरको अवस्थामा छन् भने दाहाल–नेपाल समूह यस पटक ओलीलाई देखाइदिने तहमा ओर्लिएका छन् । दुबै पक्षका लागि या त ‘हस्तिनापुरको राज, या त चपरी मुनीको बास’ बनेको छ यो आन्तरिक सत्ता संघर्ष ।

उसैपनि दाहाल पार्टीभित्रका सहकर्मीहरुलाई एकार्कामा लडाएर शक्ति आर्जन गर्दै आफू सँधै पार्टी सत्तामा रँजाई गर्न सिपालु पात्र हुन् । माओवादीमा रहँदा मोहन वैद्य र बाबुराम भट्टराईलाई एकापसमा जुधाएर पार्टी सत्ताको लगाम दुई दशकसम्म आफ्नै हातमा राख्न सफल भएका थिए । एमालेमा लगेर पार्टी माओवादी पार्टीलाई सेलाएपछि भने उनलाई ओलीले नराम्ररी रिंगाईरहेका छन् । तिलस्मी चक्मा दिएर पार्टी एकताको घोषणा गर्नुपूर्व ओली माओवादी र दाहालका एक नम्बर शत्रू थिए ।
ओलीको जपना, सपना माओवादी पार्टीको समूल नष्ट गर्नु नै थियो । बाहिरबाट आलोचना गरेर नसकिने भएपछि ‘महाभारतमा धृतराष्ट्रले आफ्ना प्रिय पुत्र दुर्योधनलाई मार्ने भीमलाई प्रेमपूर्वक अँगालोमा च्यापेरै प्राण हरण गर्न खोजेझै’ ओलीले पनि एकता गरेरै माओवादी विचार, संगठन र नेतृत्वलाई सधैका लागि सकाउने योजना बनाएका थिए । जसको कार्यान्वयन उनले एक हदसम्म त सफलतापूर्वक गर्न खोजेको देखिन्छ । नेकपाको राजनीतिलाई सरसर्ती नियाल्दा बाहिरबाट देखिने दृष्य यही नै हो । तर यस पटक पार्टी विभाजनसम्म पुग्ने खेलमा भने यो आन्तरिक कारण मात्र कारक छैन ।
यसमा दुई छिमेकीको स्वार्थ र अर्का मित्रराष्ट्रको चासोले अहिले निकै ठूलो काम गरिरहेको छ । पछिल्ला वर्ष नेपाल मामलामा खुलेरै हस्तक्षेपको तहमा ओर्लिएको चीन पहिलो खेलाडी हो भने अर्को कित्तामा आफ्नो एकलौटी खेल मैदान खोसिएकामा रुष्ट बनेको भारत छ । त्यो बीचमा घुसेको छ, सात समुन्द्रपार तर संसार मेरै हो भनेर विचरण गरिरहेका अमेरिका । यही तीन महारथिहरुको रागमा पिसिँदो छ नेकपा । यी तीन महाशक्तिको स्वार्थमा स्वयं देशको अस्तित्व के हुने भन्ने चिन्ता पनि थपिएको छ ।

पछिल्ला वर्षमा चीन नेपाल आफ्नो एकलौटी खेल मैदान ठान्दैछ र अरुलाई यहाँ प्रवेश रुचाउँदैन । सरकारी होस् वा गैरसरकारी हरेकजसो भेटहरुमा ‘हामीसँग टाँसिएर नेपालको निस्तरा चल्दैन, भारतसँग राम्रो सम्बन्ध राख्नु’ भन्ने सल्लाह दिने चीन अहिले नेपाललाई टूपीमा समातेर आफूतिर तान्दैछ भने अरुको आँखा परेको देख्न पनि चाहन्न । बिआरआईमा नेपाल सहभागि भैसकेपछि चीन अरु देशको सहायता नै नेपालले अस्वीकार गरोस् भन्ने चाहिरहेको छ ।
भारत त चीन नेपाल मामलामा घुसेपछि टाङमुनी पुच्छर लाएर किनारामा बसेर यहाँको हर्कत हेर्न विवश छ । अझ लिपुलेक–कालापानी–लिम्पियाधुरालाई भारतको नक्शामा राखेर लिपुलेकमा सडक नै खोलेपछि बढेको द्विपक्षीय द्वन्द्वमा उसले नेपालीको विश्वास गुमाइसकेको छ । नाकाबन्दीमा नराम्ररी चिढिएका नेपालीको भारतलाई हेर्ने दृष्टिकोण उनीहरुकै ब्यवहारका कारण नकारात्मक बनेको छ । अझ ओली र उनको सरकारको दूर्वाच्य र व्यवहारले उ यो सरकारप्रति सकारात्मक भावमा छैन ।
दशकौं लामो गृहकार्यपछि नेपाललाई दिनलागेको ५५ अर्ब बराबरको अनुदानको अमेरिकी सहयोग परियोजना एमसीसी रोक्न घनिभूत प्रयासमा दाहाल–नेपाल खेमाका नेताहरु नांगैं भएर उत्रिएकामा अमेरिकीहरु पनि खुशी छैनन् । उसले एमसीसी लिने नलिने नेपालको निर्णय हो तर यो सधै नेपालका लागि भनेर कुरेर बसिरहन नसक्ने चेतावनी नै दिइसकेको छ । नेकपाभित्र रडाको मच्चिएका बेला यी तीनै महाशक्ति आ–आफ्ना स्वार्थ कोबाट पूरा हुन्छ भन्ने जोडघटाउमा जुटेका छन् । जसको असर नेकपा पार्टीको जहाजमा पर्दैछ ।

नेपालमा कुनै हालतमा एमसीसी छिर्न नदिने चिनियाँ चासो, जसरी पनि एमसीसी अनुमोदन गरिदिओस् भन्ने अमेरिकी इच्छा, चीनतिर लम्पसार परेर आफूविरुद्ध लगातार नकारात्मक सोच राखेको भन्दै रुष्ट बनेको भारत, यही स्वार्थमा छन्, यी तीन शक्ति । अब नेकपारुपी दल यी तीन शक्तिको स्वार्थको जातोमा पिसिएको घूनझै धूलो हुनेछ वा बुद्धिमत्तापूर्वक बाहिर निक्लने छ त्यो हेर्न भने अझै केही दिन प्रतीक्षा गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्