२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटन मन्त्री


0
Shares

काठमाडौं, असार १९ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहांले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभएको हो ।

मन्त्री भट्टराईले अहिले पर्यटक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने भएकाले यसमा छलफल र गृहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँको भनाई थियो ।

कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने बताउनुभयो ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने दाबी पनि गर्नुभयो ।

सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको बताउनुभयो ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समुहले अहिलेसम्म ढुवानी वापतको रकम एयरलाइन्सलाई नदिएको प्रति पनि उहाँले असन्तुष्टि जनाउँदै उक्त रकम लिएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले अर्थतन्त्र पुनस्र्थापनाका लागि बजेटमाफर्त डेढ खर्ब बराबरको पुनकर्जा कोष बनाइएको उल्लेख गर्दै पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न थप गृहकार्य भैरहेको उल्लेख गर्नुभयो ।