
काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच तीन घण्टा वार्तालाप भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टासम्म भएको छलफलमा दुई नेताले मन माझामाझ गरेको बताइएको छ ।
आन्तरिक सत्ता संघर्षमा फसेको नेकपा करिब फुटको मुखमा पुगेका बेला ओली र दाहालबीच भेटवार्ता भएको हो । दुई नेतासँगै छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा भने साक्षीका रुपमा बस्नुभएको थियो ।
विहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म भएको छलफल कुनै निचोडमै नपुगे पनि नेताहरुले आफ्ना कुरा मन खोलेर राखेको बताइएको छ ।
नेताहरुले शनिबार फेरि अर्को छलफल गर्ने सहमति गरेका छन् । शनिबार स्थायी कमिटीको बैठकअघि छलफल गर्ने गरी दुबै नेता बैठकबाट उठ्नु भएको थियो ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र व्यवहारले सरकार र पार्टी दुबै चल्न नसकेको भन्दै दाहाल–माधव नेपाल समूहका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब बढाइरहेका छन् ।
विवाद पार्टी फुटाउने दिशामा तानिएपछि जारी स्थायी कमिटी बैठक स्थगत गरी आज दुई अध्यक्षबीच वार्ता गराइएको हो ।
वार्तामा प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार प्रधानमन्त्री आफूले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष दाहालले चलाउने गरी अगाडी बढ्न तयार भएको बताए पनि दाहालले त्यसरी सहमति नहुने बताउनुभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्