
काठमाडौं, असार १९ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजगताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालीम सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा धनञ्जय रेग्मीले हाल तालीममा ६०० लाई सहभागिता गराइने र आगामी दिनमा यो सङ्ख्यालाई बढाउँदै लगिने बताउनुभयो ।
यही असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गर्नुभएको प्रोटोकोलमा आधारित भएर पर्यटन व्यवसायीका लागि कोभिडको दोस्रो चरणमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा सजकताबारे डिजिटल तालीम आयोजना गरिएको हो ।
पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ ।
यस तालीमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने छ ।
साथै व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासका लागि समूचित वातावरण बनाउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले होटल एसोसिएसन अफ नेपाल, नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपालसँगको समन्वयमा तालीमको आयोजना गरिरहेको छ ।
आगामी दिनमा आवश्यकतानुसार अन्य पर्यटन सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिकस्तर मै तालीमलाई अगाडि बढाइने बोर्डले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्