१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीलाई बालुवाटार बोलावट, दाहाल–नेपाल अलग्गै भलाकुसारीमा


0
Shares

president office oath for new minister

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज पुग्नुभएको छ ।

भेटघाटलाई नियमित भएको दाबी प्रधानमन्त्रीको निजी सचिवालयले गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढेको राजनीतिक सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला हुन लागेको भेट सामान्य मात्र नहुने अनुमान गरिएको छ ।

पार्टीभित्रको चेपमा पद गुमाउनेसम्मको अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीको पछिल्ला दिनमा राष्ट्रपति भण्डारीसँग लगातारजसो संवाद भइरहेको छ ।

ओलीका विपक्षीहरुले राष्ट्रपति भण्डारी पनि पार्टीको आन्तरिक विषयमा ओलीलाई सघाउने गरी उत्रिएको आरोप लगाइरहेका छन् ।

मन्त्रीहरुलाई बालुवाटार बोलावट

यता आजै साँझ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बालुवाटार बोलाउनु भएको छ । मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको पनि एजेण्डा थाहा नभएको एक मन्त्रीले बताएका छन् ।

उता प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूह पनि अलग्गै भेटमा जुटेका छन् । जारी स्थायी कमिटी बैठक थप दुई दिनलाई स्थगित गरेर ओली र दाहाल–नेपाल समूह अलग अलग छलफलमा जुटेको हो ।

शनिबार (आज) बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारसम्मका लागि सारिएको हो ।

खुमलटारमा दाहाल–नेपाल समूहको अलग्गै भेला

प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति भण्डारी कहाँ पुग्दा दाहाल–नेपाल समूह खुमलटारस्थित दाहाल निवासमा जुटेका हुन् ।

खुमलटारमा दाहाल, नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहितका नेकपा सचिवालयका ६ जना भेला भएको जनाइएको छ ।

नौं सदस्यीय सचिवालयमा अल्पमतमा पर्नुभएका अध्यक्ष ओलीका पक्षमा ओली, इश्वर पोखरेल र विष्णु पौडेल मात्र देखिनुभएको छ ।

दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहित समावेश गरेको नक्शा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र नेपालमा आफ्ना पार्टीका नेताहरु पनि संलग्न रहेको अभिव्यक्ति दिएपछि नेकपामा पछिल्लो रडाको मच्चिएको हो ।