१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मन्त्रीको बोली ! ‘संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन’


0
Shares

काठमाडौं, असार २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएकाले अधिवेशन अन्त्य गरिएको टिप्पणी गर्नुभएको छ ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा मन्त्री अर्यालले संसद अधिवेशन कहिले बोलाउने, बन्द गर्ने र के बिजनेश दिने सरकारको कुरा भएकाले अधिवेशन अन्त्यलाई सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकसँग जोडेर हेर्नुको तूक नभएको बताउनुभएको हो ।

कोरोना महामारीकै बीचमा बजेट ल्याउन संसद अधिवेशन बोलाइएको र अब छलफलका लागि कुनै एजेन्डा नभएकाले अधिवेशन अन्त्य गरिएको दाबी गर्नुभयो ।

अर्यालले भन्नुभयो, ‘बजेट ल्याउनु थियो । महामारीबीच पनि अधिवेशन बोलाउनुपर्‍यो, बोलायौं । बजेट पास भयो । केही विधेयकहरू छलफल गर्नुपर्ने थिए सहमति जुटेन । बिजनेश थिएन । संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन । त्यसैले रत्यौली खेल्न संसद चाहिएन ।’

पछिल्ला दिनमा भइरहेका गतिविधिले विकास निर्माणका काममा अवरोध पुर्‍याएको भन्दै उहाँले पार्टीभित्र भनाभन भए पनि संवादबाटै समस्याका समाधान खोजिने जिकिर गर्नुभयो ।

सरकारले असार १८ गते संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिश गरी सोही दिनदेखि अधिवेशन अन्त्य गरेको हो ।