१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पार्टी एकता जटिल मोडमा पुगेको छ, जेसुकै हुनसक्छः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता जटिल मोडमा पुगेको भन्दै जेसुकै निर्णय हुनसक्ने जानकारी गराउनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्षमा पुगेका बेला आफ्नो मन्त्रिपरिषद्का सदस्यहरुलाई शनिबार साँझ बालुवाटारमा बोलाएर उहाँले परिस्थितिको जानकारी गराउनुभएको हो ।

पार्टीलाई विभाजनबाट जोगाउन सक्ने अवस्था सकिँदै गएको उहाँको भनाइ थियो । ‘मलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाएर पार्टी कसरी सग्लो रहन्छ ?’ उहाँको प्रश्न थियो ।

फुटबाट जोगाउन अन्तिमसम्म प्रयास गर्छु भन्दै प्रधानमन्त्री ओलीले आफुलाई साथ दिन मन्त्रीहरुलाई आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका मन्त्री र राज्यमन्त्रीहरु प्रधानमन्त्री ओलीको कुरा सुनेर निराश बनेका थिए ।

पार्टीमा देखिएको पछिल्लो विवादबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको भन्दै एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले एकता गम्भीर मोडमा पुगेको कुरा राख्नुभयो । आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको, अहिले आफूलाई घेराबन्दीमा पारेको उहाँको भनाइ थियो ।’

मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने संकेत गर्नुभएको थियो ।

यसअघि शनिबार साँझ नै मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुभएको थियो ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरिरहँदा अर्कातिर खुमलटारमा अर्का अध्यक्ष पुुष्पकमल दाहालको निवासमा दाहाल–नेपाल पक्षका नेताहरुको भेला भएको थियो ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीको कार्यशैलीका कारण सरकार र पार्टी दुबै संकटमा परेको भन्दै दुबै पदबाट राजीनामा दिन दबाब दिएका छन् ।

ओली भने कुनै हालतमा पद नत्याग्ने भन्दै टसकोमस अवस्थामा हुनुहुन्छ ।