
काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्तासंघर्ष चरमोत्कर्ष पुगेको छ । जसका संविधान र राष्ट्रका अभिभावकका रुपमा रहनुपर्ने राष्ट्रपतिसमेत तानिएका छन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूह राष्ट्रपति विद्या भण्डारीविरुद्ध महाभियोगको प्रस्तावसम्म ल्याउने खेलमा जुटेको गम्भीर आरोप लागेको छ ।
स्वयं प्रधानमन्त्री ओली यसबारेको संक्षिप्त जानकारी शनिबार साँझ भएको मन्त्रीहरुको छलफलमा दिएपछि राष्ट्रपतिसमेत पार्टीभित्रको सत्ता किचलोमा तानिएको पुष्टि भएको हो ।
बालुवाटारमा सहभागि एक मन्त्रीका अनुसार ‘अब नेकपा एक रहने सम्भावना निकै झिनो बनेको छ’ ।
प्रधानमन्त्रीले छलफलमा पार्टीको विवाद चरम अवस्थामा पुगेको र पार्टी एकता जोगाउन आफुले अथक प्रयास गरिरहेको जानकारी गारउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भन्नुभयो, ‘म र राष्ट्रपतिविरुद्ध ठूलै षडयन्त्र भयो । अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ ।’
प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन आफूमाथि दबाब दिइएको तर त्यो सम्भव नभएको उहाँले प्रष्ट पारिदिनुभएको थियो ।
राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर संसद अधिवेशन अन्त्य गर्नुपरको भन्दै उहाँले ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ?’ भन्दै प्रश्न गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्