
काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भइरहेको हो । दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सिधै शितलनिवासबाट बालुवाटार पुग्नुभएको हो ।
दुई अध्यक्षले आ–आफ्नातर्फ दुई–दुईजना सहयोगीका रुपमा राखेका छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा दाहालका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएको बताइएको छ ।
यसअघि शुक्रबारको बैठकमा भने विष्णु पौडेल र जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । दुई अध्यक्षबीच सहमति खोज्नकै लागि भनेर जारी पार्टी स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
ओलीले पार्टीमा एकलौटी गरेको भन्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउन भन्दै दाहाल–नेपाल खेमा जुटेको छ ।
पछिल्लो पटक राष्ट्रपति विद्या भण्डारीलाई समेत महाभियोग लगाएर हटाउन खोजेको भन्दै त्यो सह्य नहुने प्रधानमन्त्री ओलीले चेतावनी दिइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्