
कैलाली, असार २१ । आफुहरुको असहमतिमै प्रदेशसभा बैठक सञ्चालन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका प्रतिपक्षीहरुले बैठक बहिस्कार गरेका छन् ।
आफूहरुको असहमतिमै सरकारले बैठक अघि बढाएर गरेर दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् ।
बैठक बहिस्कार गरेर पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस र जसपाले विधि र प्रक्रिया मिचेर सरकारले मुडभेड र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको प्रतिपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।
क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, कारोना नियन्त्रणका लागि खर्च गरिएको ९० करोड बजेटको विवरण सार्वजनिक गरिनु पर्नेलगायतका माग राखेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताउनु भयो ।
प्रतिपक्षी दलले व्यक्ति भन्दा पनि प्रदेशवासीको हितका लागि माग राख्दै आएको भए पनि सरकारले बेवास्ता गरेर जनतालाई अपमान गरेको आरोप समेत लगाएका छन ।
उनीहरुले लगातार नाराबाजी गरे पनि नाराबाजीकै बीच सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक अगाडी बढाउनुभएको थियो ।
सोही क्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेट माथिको छलफल सुुरु गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
सो प्रस्ताव बहुमतले पारित भएसँगै आइतबारको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्