
काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर जानु भएका नेकपा नेता सुवास नेम्बाङले भेटवार्ता गर्नुभएको छ ।
ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता नेम्बाङ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको थियो ।
यसअघि दुई दिन पहिले पनि देउवासँग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको थियो । देउवासँग संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा छलफल भएको नेम्बाङले बताएका छन् ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक आयोगहरूमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा प्रधानमन्त्रीले देउवासँग कुराकानी गर्न भनेपछि आफूले भेटेको उहाँको भनाइ छ ।
आफूले भेटमा देउवालाई अहिलेको समसामयिक राजनीतिबारे जानकारी गराउँदै जिम्मेवार प्रतिपक्षको भूमिका सरकारले अपेक्षा गरेको बताएको नेम्बाङले जानकरी दिनुभयो ।
देउवाले भने पार्टीभित्रको विवाद चाँडो सल्टाउन भनेको पनि उहाँले बताउनुभयो । सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसीसी, संविधानका मर्मविपरीत आएका विधेयकमा सहमति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेको उहाँको भनाइ छ ।
यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो । नेकपा फुटको संघारमा पुगेका बेला प्रतिपक्षी दलका नेतासँग गरिएको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्