५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


केन्द्रीय कमिटी बोलाउन नेकपाका हस्ताक्षर संकलन


0
Shares

काठमाडौंं, असार २१ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपालबीचको झगडाले पार्टी नै विभाजनको मुखमा पुगेका बेला सत्तारुढ नेकपामा केन्द्रीय कमिटी बोलाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ ।

सयभन्दा बढी सदस्यहरुले हस्ताक्षर गरिसकेको भन्दै उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर अहिलेको झगडाको छिनोफानो गर्न माग गरेका हुन् ।

४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले गर्ने निर्णय सुझबुझपूर्ण हुने भएकाले बैठक बोलाउन माग गरिएको केन्द्रीय सदस्य ठाकुर गैरेको भनाइ छ ।

२५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु विधानमा व्यवस्था रहेको जनाइएको छ ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांशले सरकारको आलोचना गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी अ‍ोलीको राजीनामा मागेका छन् । ओली र दाहाल–नेपालबीचको असमझदारीले पार्टी नै फुट्ने खतरा बढ्न थालेको छ ।

प्रधानमन्त्री ओली सचिवालयदेखि स्थायी कमिटीमा समेत अल्पमतमा हुनुहुन्छ भने केन्द्रीय कमिटी पनि उहाँको विपक्षमा रहेको छ ।

आफूलाई भारतले हटाउन खोजेको र आफ्नै पार्टीका केही नेता पनि त्यसमा सामेल भएको आरोप ओलीले लगाएपछि प्रमाण देखाउन माग गर्दै दाहाल–नेपाल समूह आक्रोशित बन्दै पद त्याग्न माग गरिरहेका छन् ।

ओलीले भने आफू कुनै हालतमा पनि दुबै पदबाट पछि नहट्ने बरु कार्वाही गरेर देखाउन चुनौती दिइरहनुभएको छ । स्थगित स्थायी कमिटी बैठक भने सोमबार बिहानका लागि बोलाइएको छ ।