
काठमाडौं, असार २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएका अवस्थामा सत्ता सहयोगका लागि आफूसँग आग्रह गरेको जानकारी दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेका केन्द्रीय कार्यसमिति बैठकमा उहाँले प्रधानमन्त्री ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको भेटका बारेमा जानकारी दिनुभएको हो ।
असार १७ गते प्रधानमन्त्री ओलीसँग भेटको वातावरण भने केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले तय गरेको जानकारी पनि उहाँले दिनुभएको छ ।
सभापति देउवाले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भने संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकका बारेमा छलफल भएको जानकारी गराउनुभएको हो ।
बैठकमा केन्द्रीय सदस्य डा. रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप जानकारी गराउनुभएको थियो ।
नेकपाभित्रको सत्ता संघर्ष चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली र देउवा एवं देउवा र नेम्बाङबीचको भेटवार्ताले राजनीतिक बजारमा सनसनी मच्चाइरहेको छ ।
केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यसम्बन्धमा आएका समाचारबारे प्रष्ट गर्न भनेपछि देउवाले बैठकमा यसबारेको जानकारी दिनुभएको हो ।
ओलीले सहयोग मागेको र आफूले गणतन्त्रलाई नै खतरामा पार्नेगरी जाने भए मान्य नहुने तर अरु सहयोगका लागि भने पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बताएको उहाँले बैठकलाई जानकारी दिनुभयो ।
नेकपा नेता नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्