काठमाडौं, असार २२ । नेपाल व्यवस्थापन संघ (म्यान) ले वर्तमान समयमा निजी क्षेत्र संगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्याहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति ल्याउन सुझाएको छ ।
संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरुसँग विस्तृत छलफल गरी आएका सुझावहरुलाई समेटेर तयार पारेको परिस्कृत प्रतिवेदन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष हस्तान्तरण गरेको हो ।
संघका सभापति किरणकुमार श्रेष्ठले प्रतिवेदनमा आगामी मौद्रिक नीतिले समेट्न पर्ने थप विषय, आवश्यकता, कार्यान्वयन पक्ष र चुनौतीहरु र त्यसलाई सामना गर्न अपनाउनुपर्ने कदम समेत समावेस गरिएको जानकारी गराउनुभयो ।
प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले व्यवस्थापन संघ जस्तो व्यवस्थापकहरुको छाता संगठनले उपलब्ध गराएका सुझावहरुलाई आगामी मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जाहेर गर्नुभएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्