प्रज्ञा तिमल्सीना (ईमेज)
काठमाडौं, असार २२ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
जसमा हाल अमेरिका, बेलायत, रसिया र भारत बढी प्रभावित बनेका छन् । उपचार पद्धति विकास नभएको कोरोना महामारीका बारेमा धेरै अध्ययन अनुसन्धान र उपचार विधिबारे भने खोजी भइरहेको छ ।
चीनको वुहानबाट सात महिना अघि फैलिएको कोरोना भाइरस हाल विश्वभर पुगिसकेको छ । जसले नेपालसँगै छिमेकी देश भारतलाई पनि निकै आक्रान्त पारेको छ ।
लाखै मानिसको मृत्यु भइसकेको यस रोगको उपचार विधिबारे चिकित्सा विज्ञानमा निकै खोजी, अध्ययन समेत भइरहेको छ । मानिसको शरीरमा रहेको कोरोना भाइरसलाई कमजोर बनाउने सकिने र रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने अवधारणका साथ उपचार विधिको खोजी भइरहेको छ ।
जसमा हालसम्म थुप्रै खोप र औषधी समेत प्रयोगमा ल्याइएको छ । तर, अझै उपचार विधि भने पत्ता लाग्न नसकेपनि केही उपलब्धि भने हासिल भएको छ ।
उपचारका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले सोलिडारिटी परीक्षणका लागि नै आह्वान समेत गर्यो ।
हालसम्म १ सय ५० वटा औषधी पत्ता लगाई परीक्षण समेत भइरहेको छ । जसमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिर र रिटोनाभिर नामक औषधीलाई प्रयोगमा नल्याउन आग्रह गरिएको छ ।
लोपिनाभिर र रिटोनाभिर एचआइभी रोगको उपचारमा प्रयोग गर्न बनाइएको थियो । यी औषधीले काम नगरे पछि डब्लुएचओले परीक्षणमा रोक लगाएको छ ।
यस्तै बेलायतले कोरोना भाइरसको उपचारका लागि डेक्सामिथासेन नामक औषधी प्रयोगमा ल्याएको छ ।
स्वास्थ्य अवस्था गम्भिर रहेका विरामीको जीवनरक्षा गर्न सकिने दावीसहित बेलायतमा ११ हजार संक्रमितमा यो औषधी प्रयोगमा ल्याइएको थियो ।
यसले २० प्रतिशत मृत्युदर घटाएको दावी गरिएको छ । यसले प्रतिरोधी क्षमतालाई केही शान्त बनाउने र अनावश्यक प्रतिक्रियाबाट रोकी स्वास्थ्य अवस्था गम्भिर हुन दिँदैन ।
यता अमेरिकाले इवोला रोगको उपचारका लागि बनाइएको रेमडेसिभिर नामक औषधी कोरोना भाइरसको उपचारमा परीक्षण गरिरहेको छ ।
यो औषधीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेपनि मृत्युदर घटाउन सकिन्छ कि सकिँदैन् भन्ने पुष्टि भएको छैन ।
तर, रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रभावकारी हुने जनाइएको छ । यस्तै अमेरिकाले निको भइसकेका संक्रमितको शरीरमा रहेको प्लाज्मा संक्रमितलाई दान गराई उपचार सुरु गरेको थियो ।
निको भइसकेको संक्रमितको शरीरमा विकास भएको एन्टिवडिज संक्रमितको शरीरमा राख्दा त्यसले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढाउने जनाइएको थियो । जसलाई धेरै देशले प्रयोगमा समेत ल्याएका छन् ।
यस्तै अमेरिका, बेलायतले खोपको समेत परीक्षण गरिसकेका छन् ।
नेपालले पनि डब्लुएचओले आह्वान गरेको क्लिनिकल ट्रायलमा सहभागी हुने जनाएको थियो ।
तर, अन्य देशहरुमा औषधीहरु परीक्षण कै क्रममा रहेकाले नेपालमा भने परीक्षण हुन सकेको छैन ।
नेपालले अन्य देशमा परीक्षण भइसकेर राम्रो नजिता ल्याएका औषधी मात्र परीक्षणमा ल्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्