१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिना कारण जनावर मारिरहने हो भने कोरोना जस्ता रोगको शिकार झनै हुनुपर्नेछः संयुक्त राष्ट्रसंघ


0
Shares

एजेन्सी, असार २३ । बिना कारण जनावर मार्ने प्रवृत्तिमा रोक नलगाउने हो भने कोरोना भाइरस जस्ता संक्रामक रोगको शिकार झनै हुनुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

जूनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दैका राष्ट्रसंघका विज्ञहरुले वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने चेतावनी दिएका छन् ।

अहिले विश्वभर महामारी बनेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको हो । जसले मानव सभ्यतामाथि नै संकट ल्याएको छ । पशुजन्य प्रोटिनको माग अधिक हुनु, दीगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगमा वृद्धि भएको उनीहरुले भनेका छन् ।

बेवास्ता गरिरहिएको जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको मृत्यु हुने गरेको विज्ञहरुले बताएका छन् । र यसको मारमा कम तथा मध्यम आय भएका मुलुकका बासिन्दा पर्ने गरेका छन् ।

स्वास्थ्यका साथै ठूलो आकारमा आर्थिक क्षति पुर्याउने यस्ता रोगप्रति सचेत रहन उनीहरुले भनेका छन् । कोरोनाकै कारण मात्र विश्व अर्थतन्त्रमा दुई वर्षमा ९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी हुने आँकलन गरिएको छ ।

कोरोना जस्तै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका जूनोटिक डिजिज इबोला, वेष्ट नाइल भाइरस र सार्स हुन् ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युटले आफ्नो अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफै मानिसमा भने नसर्ने जनाएका छन् । मान्छेकै कारण जनावरमा हुने त्यस्ता रोग मानिसमा सर्ने गरेको हो ।

बढ्दो प्राकृतिक वातावरणको ह्रास, भूमि, वन्यजन्तुमा हुने शोषण, स्रोतको दोहन र जलवायु परिवर्तन जस्ता कारण जूनोटिक डिजिजले सहजै मानिसमा सर्न पाएको अनुसन्धान प्रतिवेदनको निचोड छ ।

‘पछिल्लो शताब्दीमा हामीले नोवेल कोरोना भाइरसका ६ प्रमुख महामारी देखेका छौँ ।’ भन्दै संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक तथा युएनका उपमहासचिव इङ्गर एन्डरसनले भन्नुभयो, ‘पछिल्लो दुई दशक अर्थात कोभिड–१९ पूर्व जूनोटिक डिजिजका कारण १०० बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो ।’

उहाँका अनुसार, ‘कम तथा मध्यम आय भएका देशमा हरेक वर्ष स्थानीय रुपमा पाइने जूनोटिक डिजिजका कारण २० लाख मानिसको ज्यान जाने गरेको छ ।’

एकातिर पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले बढेको छ भने अर्कतिर ति जंगली जनावर रहने बासस्थान मास्दै जानुले अनेकन समस्या देखिएको पनि औल्याइएको छ ।