ईमेजखबर संवाददाता, काठमाडौं, असार २८ । नेपाल र नेपालीका लागि विश्वव्यापी महामारी बनेको कोरोना भाइरसभन्दा वर्षेनी गइरहने बाढी पहिरो र डुबानको समस्या कठोर बनेको छ ।
यस वर्ष पनि मनसुन शुरु भएको पहिलो महिनामै मृत्यु र वेपत्ता गरी करिब १२० जनाको जीवन क्षति भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ यता बाढी पहिरो र डुबानमा परेर ७५ जनाको मृत्यु भएको छ ।
अबिरल परेको पानीका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी अरु ४२ जना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका उनीहरु मध्ये अधिकांशको मृत्यु भएको आशंका गरिए पनि पुष्टि भने भैसकेको छैन ।
यी घटनामा ५२ जना घाइते बनेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव मुरारी वस्तीले जानकारी दिनुभयो ।
असार २८ गते आज आइतबार विहान १० बजेसम्म प्राधिकरणमा प्राप्त तथ्यांक अनुसार सबैभन्दा धेरै २७ जनाको म्याग्दीको पहिरोमा परेर मृत्यु भएको छ । यसैगरी जाजरकोटमा १०, कास्कीमा ७, सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ ।
म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ भने अझै चारजना बेपत्ता छन् ।
यसैगरी जाजरकोटबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौजनाको मृत्यु भएको हो । अझै ५ जना बेपत्ता छन् ।
यस्तै कास्कीमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सराङकोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।
यसैगरी सिन्धुृपाल्चोकको पहिरोमा परेर सबैभन्दा बढी २० जना वेपत्ता भएका छन् । संखुवासभामा १०, म्याग्दीमा ४ र जाजरकोटमा ४ जना वेपत्ता रहेको जानकारी प्राप्त भएको ईमेजखबरलाई प्राधिकरणका वस्तीले जानकारी दिनुभयो ।
गत जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश छिरेको मनसुनका कारण परेको पानी र त्यसपछि आएको बाढी, पहिरो तथा चट्याङ्गसमेतको तथ्यांक जोड्दा भने मृत्यु हुनेको संख्या नै कम्तिमा ९५ पुगेको छ ।
सबैभन्दा धेरै पहिरोमा परी यो एक महिनामा ७४ जनाको मृत्यु हुँदा चट्याङ्गका कारण देशभर १७ जनाको ज्यान गएको र ४२ जना घाइते भएका छन् । यसैगरी बाढीमा परी दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका छन् ।
पहिरोका कारण देशभर २६६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । १२६ निजी आवास पूर्णरुपमा क्षतिग्रस्त हुँदा २० घरमा आंशिक क्षति पुगेको छ ।
बाढीबाट देशभर ७९ परिवार प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म अझै लगातार वर्षा हुने छ । लगातारको वर्षाले बाढी, पहिरो र डुबानको खतरा औल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्