
काठमाडौं, असार २८ । साझा पार्टी र विवेकशील नेपाली दलबीच फुटको डेढ वर्षपछि फेरि एकता हुने भएको छ ।
एकता प्रक्रियामा असहमत देखिएका साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य र मुमाराम खनाल भने पार्टीबाट बाहिरिनु भएको छ ।
साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि संवाद समिति नै गठन गरेको छ । उक्त बैठकमा एकताको विषयमा फरक मत राख्दै आउनुभएका प्रवक्ता आचार्य र सदस्य खनाल उपस्थित नै हुनुभएन ।
उता विवेकशीलले पनि पार्टी एकताका लागि कार्यदल बनाएको छ । साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो भने २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए ।
बागमती प्रदेशसभामा समानुपातिकतर्फ तीन सिट रहेको उनीहरु २७ पुस २०७५ मा फेरि विभाजित भए । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै छन् ।
साझा पार्टीको फागुन १५ देखि १७ सम्म लुम्बिनीमा भएको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो ।
विवेकशीलले महासचिव निर्देश सिलवाल संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य राखेर वार्ता समिति बनाएको छ ।
साझा पार्टीले केशव दाहाल र समिक्षा बास्कोटासहित रहेको समिति बनाएको हो । यसैबीच साझा पार्टीको बैठकले डा. आचार्य र खनाललाई पार्टी त्याग गरेकामा धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्