
काठमाडौं, असार २८ । नक्कली नातेदार खडा गरी ललितपुरमा एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको खुलासा भएको छ ।
प्रहरी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, चिकित्सक र जनप्रतिनिधिसमेत संलग्न भई अर्कै व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गराएको एक वर्षपछि १२ जना पक्राउ परेका हुन् ।
५५ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गर्न आर्थिक प्रलोभनमा पारी ३० वर्षीय व्यक्तिको मिर्गौला निकालिएको दाबी प्रहरीको छ । नक्कली कागजात तयार गरी मिर्गौला प्रत्यारोपण गराउने सबैलाई मानव बेचविखन अनुसन्धान ब्युरोले पक्रेको हो ।
पक्राउ पर्नेमा दुई प्रहरी, तीन जना चिकित्सक, एक वडाध्यक्ष, एक जना मिर्गौला लिनेका आफन्त, एक जना बिचौलिया, तीन जना जिल्ला प्रशासनका कर्मचारी र एक जना कानुन व्यवसायी छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी छन् ।
चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, कानुनी सल्लाहकार रमेश काफ्ले, डाक्टर बालकृष्ण कालाखेती र नोबेल अस्पतालका डाक्टर राकेशकुमार वर्मा पनि पक्राउ परेका छन् ।
त्यस्तै, अर्घाखाँची दरबन्दी भई हाल नेपाल प्रहरी अस्पतालमा काजमा कार्यरत प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि समातिएका छन् ।
ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, भोजपुर घर भई भक्तपुरको जगाती बस्ने रेश्मा राई र भक्तपुरकी जमुना राजभण्डारीलाई पनि यसै घटनमा संलग्न रहेको भन्दै पक्राउ गरिएको हो ।
घटनाको इतिवृत्तान्त भने यस्तो रहेको प्रहरुीले जनाएको छ,
ललितपुर–३ का ५५ वर्षीय पुरुषको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराउनु पर्ने भएपछि उनका दुई बहिनीले मिर्गौला दिन तयार भएका थिए तर उनीहरुको मिलेन ।
यो कुरा भक्तपुर बस्ने रेश्मा राईले थाहा पाएपछि उनले अरुको मिर्गौला लिन पनि मिल्छ भनिन् । पैसाबाट मिर्गौला किन्न पाइने रेश्माले बताएपछि मिर्गौला किन्ने पक्ष राजि भयो ।
रेश्मा र उही बीचमा जोडिन आइपुगेका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्र थपलियाले मिर्गौला दिने व्यक्ति खोज्ने भए । रेश्माले भक्तपुरमा मजदूरी गर्ने ओखलढुंगाका ३० वर्षीय युवालाई भेटेर एउटा मिर्गौलाले काम गर्छ भनेपछि ती युवा पैसा लिएर मिर्गौला दिन तयार भए ।
मिर्गौला लिनु पर्ने व्यक्तिका भान्जा अस्ट्रेलियामा रहेको थाहा पाएपछि उनकै नाममा मिर्गौला दिने गरी कागजात मिलाउने जुक्ति प्रहरीले निकाल्यो । २०१६ मा अष्टेलिया गएका व्यक्तिको नाममा कागजात तयार पारी सक्कली भान्जाकै नाममा नाता प्रमाणित गरियो र पछि नाता प्रमाणित कागजातमा फोटो भने ओखलढुंगाका तिनै व्यक्तिको हालियो, जसले मिर्गौला दिएका थिए ।
उनीहरुले पेश गरेको कागजातका आधारमा ललितपुर वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले नाता प्रमाणित गरिदिए । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि दुई व्यक्ति एकै हुन् भनेर प्रमाणित गरिदियो ।
मिर्गौला प्रत्यारोपणका लागि बिरामीको परिवारले नोवेल अस्पतालका डाक्टर राकेशकुमार वर्मासँग राय लिए । वर्माले काठमाडौँमा होइन, चितवन मेडिकल कलेजमा प्रत्यारोपण गर्न सुझाएपछि कागजात तयार नहुँदै चितवनमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी प्रहरी अस्पतालमा कार्यरत असईसमेतले मिलाएको प्रहरीको भनाइ छ ।
मिर्गौला प्रत्यारोपणका लागि दुबैको सक्कली कागजात चाहिने भएपनि अस्पताल रंगीन फोटोकपीकै भरमा, खास व्यक्ति र अर्का व्यक्तिको फोटो फरक हुँदा पनि प्रत्यारोपण गर्न तयार भयो ।
ओखलढुंगाका ती युवालाई मेरो भाइ हो भनेर सनाखत गरिदिनेमा जमुना राजभण्डारी छिन् । नक्कली कागजातको भरमा काम गरेको अस्पतालले प्रमाणीकरणका लागि वडा र प्रशासनमा समेत पठाएको दाबी गरिएको छ ।
२०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको, अघिल्लो दिन मात्रै बोर्डको बैठकले प्रत्यारोपणको स्वीकृति दिएको र बोर्डको स्वीकृति हुनुभन्दा ५ दिन पहिले नै मिर्गौला दिने र लिनेलाई अस्पताल भर्ना गरिसकिएको तथ्य रहेको छ ।
यसरी नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्दा मिर्गौला लिने व्यक्तिले २८ लाख रुपैयाँ खर्च गरेको पाइएको भन्दै मानव बेचविखन अनुसन्धान ब्युरोले यीमध्ये बिचौलियाले कति लिए, अस्पताललाई कति दिए भन्ने प्रस्ट भइ नसकेको जनाएको छ ।
पक्राउ परेकाविरुद्ध जिल्ला अदालत ललितपुरले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहोराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्