
काठमाडौं, असार २८ । नेपाल र नेपालका राजनीतिज्ञलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रशारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।
नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार भारतीय विदेश मन्त्रालयमार्फत औपचारिक रुपमै ‘कूटनीतिक नोट’ दिएको हो ।
कूटनीतिक नोटमा केही भारतीय सञ्चारमाध्यमबाट प्रशारित घृणित सामग्रीप्रति भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ती सामग्री गलत, आधारहीन र असंवेदनशील भएको तथा नेपाली जनता र नेतृत्वको अपमान गरेको जनाइएको छ ।
नेपालले भारतीय मिडियाबाट प्रशारित समाचार सामग्रीहरु आपत्तिजनक र निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रताको लक्ष्मण रेखासमेत नाघेको नोटमा जनाइएको छ ।
नोटमा भनिएको छ, ‘दुई देशबीचको गहिरो र बहुआयामिक सम्बन्ध विशेषगरी समान सार्वभौमिकता, मित्रता र एक–अर्काका रुची र चासोको पारस्परिक सम्मानमा आधारित छन्, तिनलाई थप सुदृढ बनाउन मिडियाको ठूलो भूमिका हुन्छ, हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं, मिडियाले शिष्टता र मर्यादाको सीमा नाघ्नु हुँदैन । तर, भारतीय मिडियाबाट प्रेस स्वतन्त्रताको लक्ष्मण रेखा नाघ्ने काम भएको छ ।’
नेपालका अर्का मित्र राष्ट्रका प्रतिनिधिलाई अनावश्यक रुपमा विवादमा तान्ने काम भएकामा समेत आपत्ति जनाइएको छ । नेपालका सम्बन्धमा भारतीय मिडियाबाट प्रसारित आपत्तिजनक सामग्रीविरुद्ध तत्काल कदम चाल्न र त्यस्ता सामग्रीले भविष्यमा भारतीय मिडियामा स्थान नपाउने सुनिश्चितता गर्नसमेत आग्रह गरिएको छ ।
एउटा मित्र राष्ट्र र त्यसको नेतृत्वविरुद्धको सञ्चारमाध्यमको यस किसिमका घृणित र अपमानजनक प्रस्तुतिले दुई देशबीचको औपचारिक सम्बन्धलाई कमजोर पार्ने र आमनागरिकमा पुस्तौंपुस्तासम्म पीडा र घृणासमेत उत्पन्न गराउने नोटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्