२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकामा चरम विवाद, केसीलाई बनाइयो अध्यक्ष, विष्ट हटाइए


0
Shares

nepali congress america dhananjaya narshing kc Ananda bist jana samparka samittee usa

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिका फेरि विवादमा फसेको छ । नयाँ नेतृत्व चयनको विषय विवादमा फसेको जनसम्पर्क समितिमा पहिलेदेखि नै बेमेल थियो ।

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका समितिका अध्यक्ष आनन्द बिष्टलाई हटाएर वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीलाई अध्यक्ष घोषणा गरिएपछि नयाँ विवाद सृजना भएको हो ।

आमन्त्रित केन्द्रिय सदस्य रहेका विष्ट ६ महिनाभित्र अधिवेशन गराउन असफल भएकाले पदमुक्त गरेको दाबी केसी पक्षले गरेको छ भने विष्ट र महासचिव मुनिन्द्र नेम्बाङले उक्त निर्णय अवैधानिक भन्दै अस्वीकार गरेका छन् ।

जनसम्पर्क समितिका पूर्वसंयोजक बिष्णु सुवेदीको नेतृत्वमा बसेको सक्रिय सदस्यहरूको बैठकले विष्टलाई हटाएर उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई अध्यक्ष बनाएको हो ।

केसीलाई अध्यक्ष बनाउने निर्णयप्रति आपत्ति जनाउँदै विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य, मान्यता र पद्धति विपरित सार्वजनिक बहस गर्नु गैरजिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिने अधिकार नेपाली काँग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ ।’

विष्टले सांगठनिक हित, एकता, संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाई अपील गर्दै गलत र आधारहीन हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ ।
केसी पक्षले भने बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्य भइसकेपछि अध्यक्ष खाली रहेकाले यो निर्णय लिनु परेको तर्क गरेको छ ।

यसअघि अधिवेशन तयारीका लागि केसी नेतृत्वमा ईश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे सदस्य रहने गरी समिति बनाइएको थियो ।
सबैलाई समेटेर भेला बोलाउने जिम्मा पाएको समतिले जुम बैठकमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति बनाइएको घोषणा गरेको हो ।

नयाँ समितिको उपाध्यक्षहरुमा डा. हेम चटौत, ईश्वर सापकोटा, सागर कँडेल, अनन्तराज सुवेदी र प्रतिक पाण्डे तथा महासचिवमा सुभाष घिमिरे, सचिवमा मुक्ति पन्त र खड्ग उप्रेती तथा कोषाध्यक्षमा क्रान्ति अर्याल भण्डारीलाई चयन गरिएको छ ।

सदस्यहरुमा प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार, भेषबहादुर कँडेल, डा. अम्बरबाबु भण्डारी इन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, (सुरेश हमाल (बेग), श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम र शशीचन्द्र अधिकारीलाई चयन गरिएको छ । बाँकी ४ जना भने पछि मनोनयन गरिने जनाइएको छ ।

विष्णु सुवेदी, रविना थापा, कृष्ण लामिछाने, भक्त थापा, प्रियरन्जन दाहाल र अमृत सापकोटालाई सल्लाहकार चयन गरिएको छ ।

अमेरिकामा सन् २००७ मा नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति दर्ता गरिएको भएपनि पछि सन् २००९ मा विष्टले न्यूयोर्कमा आफ्नै नाममा सोही नामको अर्काे संस्था दर्ता गराएपछि पनि विवाद भएको थियो ।

तर पछि नेपाली काँग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाएर गराएको एकता महाधिवेशनबाट विष्ट सभापतिमा निर्वाचित हुनुभएको थियो । २–२ वर्षमा अधिवेशन गर्नुपर्ने भएपनि विष्टले अधिवेशन गराउन नसक्दा फेरि नयाँ विवाद सृजना भएको हो ।

केसी पक्षले गरेको निर्णय आपत्तिजनक भन्दै विष्ट र नेम्बाङले निकालेको यो विज्ञप्ति