
एजेन्सी, असार ३० । अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलोपटक संघीय कैदीलाई दिन लागिएको मृत्युदण्डलाई सर्वोच्च अदालतले स्वीकृति दिएको छ ।
स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा सर्वोच्च अदालतले ५–४ ले निर्णय लिएको हो ।
योसँगै अमेरिकामा १७ वर्षपछि संघीय तहमा हत्या आरोपमा दोषी ठहर भएका व्यक्तिले मृत्यदण्ड पाउने भएका हुन् । तीन जनाको हत्या गरी शव तालमा फालेका ड्यानियल लुइस लीले मृत्युदण्ड पाउने भएका हुन् ।
सोमबार मृत्युदण्ड दिन लागिएका उनलाई मृत्युदण्ड दिने ठाउँमा जाँदा आफूहरुलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने परिवारका सदस्यले बताएपछि गत शुक्रबार संघीय अदालतका न्यायाधीशले तत्कालका लागि रोकेका थिए ।
तर त्यसविरुद्ध सरकार अपिलमा गएपछि सेभेन्थ युएस सर्किट कोर्ट अफ अपिलले सरकारको पक्षमा रुलिङ गरेको हो ।
एक पटकका ह्वाइट सुप्रिमिस्ट लीलाई गत डिसेम्बरमै मृत्युदण्ड दिने तयारी भएपनि अदालतले अवरोध गर्दा लम्बिएको थियो । लीले हत्या गरेका व्यक्तिकी आफन्त एर्लिन पिटरसन मृत्युदण्डको विपक्षमा रहेकी छन् ।
आफ्नी छोरी, नातिनी र ज्वाईँका हत्याराबारे पिटरसनले आफ्ना आफन्तका नाममा कसैको हत्या होस् भन्ने पक्षमा आफू नरहेको बताएकी थिइन् ।
अमेरिकामा सन् १९७२ मा सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय र राज्य तहमा मृत्युदण्डमाथि प्रतिबन्ध लगाए पनि पछि सन् १९७६ को सर्वोच्चले राज्य तहमा मृत्युदण्ड कायम राख्न छुट दिएको थियो । सन् १९८८ मा सरकारले संघीय तहमा पनि मृत्युदण्ड दिन मिल्ने गरी कानून बनायो ।
डेथ पेनाल्टी इन्फरमेशन सेन्टरको तथ्यांक अनुसार अमेरिकामा सन् १९८८ देखि २०१८ सम्म संघीय तहमा ७८ जनालाई मृत्युदण्डको सजायँ सुनाइए पनि तीन जनालाई मात्रै मृत्युदण्ड दिइएको छ । ६२ जना भने मृत्युदण्डको प्रतीक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्