
काठमाडौं, असार ३० । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार (आज) भएको भेटवार्तामा छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ६ दिनपछि भएको भेटवार्तामा छलफलबाटै निकास दिने कुरामा समझदारी बनेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
दुई अध्यक्षबीच असार २४ यता भेटवार्ता भएको छैन भने बुधबार साँझको संवाद तनावपूर्ण बनेको थियो । फुटको डिलमा पुगेको नेकपामा दुई अध्यक्षबीच भेटवार्ताले निरन्तरता पाइरहेपनि कुनै सहमति बन्न सकेको छैन ।
सचिवालयदेखि स्थायी कमिटी बैठकसम्म प्रधानमन्त्री र पार्टी अध्यक्षको पद त्याग्न ओलीमाथि दबाब बढेपछि साउन २ गतेसम्म स्थायी कमिटी बैठक नै स्थगित गरिएको छ ।
दाहाल–माधव नेपाल पक्ष ओलीको राजीनामा मागिरहँदा ओलीले भने पद त्याग्ने कुनै सम्भावना नरहेको भन्दै यसमा प्रयास नै नगर्न भनिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्