
काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ ।
ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र राम पनि नेपालमै जन्मिएको भन्दै दिएको अभिव्यक्ति नेपाल र भारत दुबैतिर विवादमा परेपछि परराष्ट्रले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिनुपरेको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनामा चोट पुर्याउने नियत नभएको भन्दै प्रष्ट्याएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन् । प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न सांस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो ।’
अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउन प्रधानमन्त्रीले त्यसो नभनेको जिकिर परराष्ट्र मन्त्रालयले गरेको छ ।
हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने उल्लेख गर्दै विज्ञप्तिमा दुई वर्षअघि दुबै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस सेवा उदघाटन गरेको कुरा पनि स्मरण गरिएको छ ।
यसअघि सोमबार बालुवाटारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति कार्यक्रममा प्रधानमन्त्री ओलीले साँच्चैको अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको दाबी गर्नुभएको थियो ।
उहाँले हिन्दुहरूका भगवान् राम भारतीय नभई नेपाली भएको दाबी गर्दै भारतले सांस्कृतिक थिचोमिचो गरेको आरोप पनि लगाउनुभएको थियो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपालभित्र र भारतमा तीब्र आलोचना भएपछि परराष्ट्रमार्फत् प्रष्टोक्ति दिन लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्