२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गण्डकीप्रदेशमा बाढीपहिरोबाट विस्थापितको पुर्नस्थापना गर्न दुईमहिना लाग्ने : मुख्यमन्त्री गुरुङ


0
Shares

लमजुङ, असार ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न दुई महिना समय लाग्ने बताउनुभएको छ ।

बाढीपहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधबार लमजुङ सदरमुकाम बेसीसहर पुग्नुभएका मुख्यमन्त्री गुरुङले उद्धारको चरण सकिएको बताउनुभएको छ ।

बाढीपहिरोबाट विस्थापितहरुलाई हाल सामुदायिक भवन र विद्यालयमा राखिएको छ ।

२ महिनासम्म उनीहरुलाई राहत उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी क्षति भएको म्याग्दीका बाढीपहिरो पीडितलाई शुद्ध खानेपानी र राहत उपलब्ध गराउन समस्या भइरहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

गत बिहीबार बेसीसहरमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेटेर मुख्यमन्त्री गुरुङले प्रति परिवार ५० हजारका दरले राहत उपलब्ध गराउनुभयो ।

कोभिड–१९ संक्रमण रोकथाम र बाढीपहिरो पीडितलाई राहत तथा पुनस्थापना तदरुकताका साथ गर्न मुख्यमन्त्रीले कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिनुभयो ।