
काठमाडौं, असार ३१ । यातायात व्यवसायीहरुले वातावरण सहज बने लामोदूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् ।
यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् ।
सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेका व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दुरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताउनुभयो ।
आफ्ना मागहरुप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्राको वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताउनुभयो ।
कोरोनाको संक्रमणबाट यात्रुहरुलाई जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।
सरोकारवालसँगको वृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उहाँले बताउनुभयो ।
‘एक्सन प्लान’ मा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने सन्दर्भमा जिम्मेवारी समेत तोकिएको र त्यो जिम्मेवारीको डिटेल वर्क आउट गर्दै अर्को बैठकमा निष्कर्ष निस्किने बताउनुभयो ।
सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण रुपमा अझै यातायात सञ्चालन हुन सकेका छैनन् ।
व्यवसायीहरुले विभिन्न माग राख्दै यथास्थितिमा सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्