२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


ओली–दाहालसहितका नेताको छलफल निष्कर्षविहीन, ओलीले राजिनामा दिनुपर्ने अडान कायमै


0
Shares

काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीच आज (विहीबार) भएको बैठक पनि बिना निष्कर्ष सकिएको छ ।

यद्यपि, लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक नरोक्ने र शुक्रबार राख्ने सहमति भने नेताहरुले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र नेता माधव नेपालसहितका नेताहरुले तीन घण्टासम्म छलफल गरे पनि शक्ति बाँडफाँटमा सहमति गर्न सक्नु भएन ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा गर्नुपर्ने अडानमा रहनु भएका दाहाल–नेपाल पक्षलाई ओलीले त्यो आफुबाट हुन नसक्ने जवाफ पटक पटक दिनुभएको छ ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले सञ्चारमाध्यमलाई बताउनुभएको छ । पौडेलले छलफल सकारात्मक रहेको बताउनुभयो । छलफलमा अर्का नेता जनार्दन शर्मा पनि सहभागी हुनुुहुन्थ्यो ।

दोस्रा तहका नेताहरुले भने पार्टी विभाजनको मुखमा पुगेको भन्दै सहमति खोज्न नेताहरुलाई दबाब दिइरहेका छन् । तैपनि प्रधानमन्त्री ओली राजिनामा दिने विषयमा टसकोमस हुनुहुन्न ।

बिहीबार पनि दाहाल र नेपाल दुबैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गर्नुभयो । ओलीले भने उक्त माग ठाडै अस्वीकार गर्नुभएको थियो ।

कुनै हालतमा ओलीलाई पद त्याग्न बाध्य बनाउने एक सूत्रीय अभियानमा जोडिनुभएका दाहाल–नेपाललाई निरस्त्र गर्न ओलीले पनि पटक पटक विभिन्न अस्त्र फ्याँक्नु भएको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा प्रकाशित गरेपछि आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको आरोप ओलीले लगाएपछि दाहाल–नेपाल समूह आक्रोशित बनेको छ ।

यसबीचमा अध्यक्षद्वय ओली र दाहालबीच अनेक चरणमा छलफल भएपनि टुंग्गोमा नपुगेपछि आज नेपालसहितका नेता पनि छलफलमा बस्नुभएको हो ।

बालुवाटार जानुअघि अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा आफूपक्षीय सचिवालय सदस्यहरुसँग राय माग्नुभएको थियो । खुमलटार बैठकमा दाहाल, नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच प्रधानमन्त्रीको राजीनामा माग्ने अडान नछाड्ने सहमति भएको थियो ।