
काठमाडौं, साउन १ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले बिहीबारदेखि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को कारणले अत्यावश्यक बाहेक सेवा बन्द गरेको अस्पतालले सबै सेवा सुचारु गरेको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।
‘कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन सकेका थिएनौँ’’, उहाँले भन्नुभयो, ‘‘तर अब सेवा रोक्नुपर्ने आवश्यकता नभएकाले पहिल्यै जस्तै बिरामीलाई सबै सेवा दिन थालेका छौँ ।’’
कोभिड–१९ को कारणले बन्द भएको बहिरङ सेवा पनि केही पहिले शुरु गरेको अस्पतालले अब भने निःसन्तान, परिवार नियोजन, कृत्रिम गर्भाधान र तालीम सेवा शुरु गरेको छ ।
अस्पतालले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ती सेवा दिन थालिएको हो ।
बन्दाबन्दी (लकडाउन) का बीचमा प्रसूति, गर्भपतन र आस्कमिक सेवा सुचारु भएका थिए ।
अस्पतालमा महिला विभिन्न रोगसम्बन्धी उपचार गरिन्छ । अस्पतालका निर्देशक डा. मिश्राले दूरबिनबाट गरिने शल्यक्रियासमेत अब चाँडै शुरु गरिने बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणका कारण हुने डरले दूरबिनबाट गरिने शल्यक्रिया लकडाउनसँगै रोकिएको थियो ।
नियमित सेवा सुचारु भएदेखि आजदेखि अस्पतालमा बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।
पहिले दैनिक ८०० सम्म बिरामी नियमित सेवा लिने गरेकोमा अहिले दैनिक ५०० पुगेका छन् ।
यसैगरी लकडाउनका बीचमा अस्पतालले नियमित सुत्केरी गराइरहेको छ । सुत्केरी हुने आउने बिरामीको अवस्था हेरेर अस्पतालले सुत्केरी गराइरहेको छ ।
अस्पतालले फागुनमा एक हजार ५७ सामान्य र ६८९ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् । यस्तै चैतमा ८५३ सामान्य र ६२७ शल्यक्रिया, वैशाखमा ७७४ सामान्य र ६१४ शल्यक्रिया, जेठ ८२३ सामान्य र ५९९ शल्यक्रिया तथा असारमा ८७३ सामान्य र ६२७ शल्यक्रिया गरेर सुत्केरी गराइएका छन् ।
यस्तै लकडाउनका बेला दैनिक ५० देखि ५५ जना भर्ना हुने गरेका थिए । लकडाउनका बेला २५ जना कोभिड–१९ का शङ्कास्पद बिरामीको अस्पतालले उपचार गरेको थियो ।
तीमध्ये १८ जना सुत्केरी र ६ जना नियमित स्वास्थ्य परीक्षण गराएर घर फर्किका थिए । यस्तै एक जना महिलालाई कोभिड–१९ को सङ्क्रमण देखिए पनि अस्पतालमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा मिश्राले बताउनुभयो ।
लकडाउनका बेला भर्ना भएका बिरामीलाई छुट्टै कोठामा राखी पीसीआर परीक्षण गराएर मात्र उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।
यस्तै अस्पतालले फागुनमा ११३ जना, चैतमा ७०, वैशाखमा ७० र जेठमा ५८ जनाले गर्भपतन गराएको छ । लकडाउनका बेला सिफ्टमा काम गरेका कर्मचारी अहिले नियमित तालिकामा आउने गरेका छन् । अस्पतालमा अहिले ६५० स्वास्थ्यकर्मीसहित कर्मचारी रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्