
काठमाडौं, साउन १ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताउनु भएको छ ।
आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रममा मन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित र पारदर्शी बनाउन कानुन मस्यौदाको प्रक्रियामा अघि बढ्न आग्रह गर्नुभएको छ ।
खतिवडाले निस्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभइ काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्त विपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्ने सुझाव पनि दिनुभयो ।
सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउन नहुनमा उहाँले जोड दिनुभयो ।
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आइक्यानलाई सुझाव दिनुभयो ।
अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुन पनि उहाँले सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्