१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ अन्तर्राष्ट्रिय उडानबाट फर्किए १ हजार २४९ नेपाली


0
Shares

काठमाडौं, साउन २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका १ हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।

शुक्रबार नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौं ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ ।

कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौं ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ ।

हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन् । यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन् । रासस