
काठमाडौं, जेठ २० । राष्ट्रिय जनता पार्टी राजपाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न फेरि माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा सदनको मर्यादा राख्दै लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न राजपाले माग गरेको हो । उसले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
राजपा सांसद राजकिशोर यादवले सरकार कसले चलाएको छ भन्ने प्रश्न गर्दै लोक सेवा आयोगले मागेको विज्ञापन संवैधानिक व्यवस्था विपरित भएको पनि जिकीर गरे ।
आयोगले आह्वान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्दै यादवले यसमा सरकारको कुनियत देखिएको दावी गरे ।
उनले संविधानमा गरिएको व्यवस्थाविपरीत आयोगले विज्ञापन आह्वान गरेको भन्दै संविधानको कार्यान्वयनमा लाग्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रलाई दीर्घकालीन रूपमा नोक्सान पुर्याउन सरकार लागेको आरोप उनको थियो ।
के हो इण्डो प्यासेफिक रणनीति जवाफ देउ
यसैगरी राजपा नेता यादवले इन्डो प्यासेफिक रणनीतिबारे परराष्ट्र मन्त्रीको दावी र अमेरिकी विदेश मन्त्रालयको रिपोर्ट बाझिएको भन्दै नेपालको धारणा स्पष्ट पार्न माग पनि गरे ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डोप्यासिफिक स्टाडेजीक पार्टनरसीपमा नेपाल संलग्न नरहेको भनाइमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको यादवले बताएका हुन् । परराष्ट्र मन्त्रीले त्यो विषय हुँदै होइन भने पनि अमेरिकन परराष्ट्र मन्त्रालयको रिपोर्टमा नेपाल पनि समाहित भएको कुरा आएको भन्दै उनले सत्यतथ्य जानकारी दिन आग्रह गरे ।
उनले भारत र नेपालको सम्बन्धको कुरा गर्दा मधेसलाई उपेक्षा नगर्न पनि उनले आग्रह गरे ।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै राजपाका सांसदहरूले उभिएर विरोध जनाएपछि यादवले संसदमा आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्