
प्रदीप आचार्य (ईमेज)
बुटवल, साउन ४ । रुपन्देहीको गैडहवा गाउँपालिकाले बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत बालिका बिमा सञ्चालन गरेको छ ।
गाउँपालिकाले कार्यविधि नै बनाएर बालिका बिमा सञ्चालन गरेपछि बालविवाहमा कमी आउने विश्वास गरिएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिकाले बाल विवाहको अन्त्यका लागि भन्दै बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरेको छ ।
बालिका जन्मिने वित्तिकै गाउँपालिकाले बिमा गरिदिने व्यवस्था गरेपछि गाउँपालिकामा बाल विवाहको अन्त्य हुने विश्वास गरिएको छ भने स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्या पनि वृद्धि हुँदै गएको छ ।
तराईमा २० वर्ष नपुग्दै छोरीको विवाह गरि दिने चलन छ । कानूनले २० वर्ष नपुग्दै बिहे गर्न नपाइने भने पनि यसको पूर्ण पालना हुन सकेको छैंन ।
गैडहवा गाउँपालिकाले कार्यविधि नै बनाएर जन्मने बित्तिकै बालिकाको बिमा गर्दै आएको छ ।
स्वास्थ्य संस्थामा जन्मिएकी बालिकाको ३ महिनाभित्र गाउँपालिकाले २० हजार र अभिभावकबाट ५ हजार गरि २५ हजार रकम बैंकमा जम्मा गर्दै आएको छ ।
बालिका २० वर्ष पुगेपछि मात्र त्यो रकम झिक्ने पाउने छन् । जुन रकम बढेर ३ लाखभन्दा बढी हुने छ ।
२० वर्ष नपुग्दै बालिकाले बिहे गरेमा त्यौ पैसा गाउँपालिकाकै खातामा जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ ।
बालिका बिमा सञ्चालन गर्नका लागि गैंडहवा गाउँपालिकाले यस वर्ष पनि नीति तथा कार्यक्रममा निरन्तरता दिएको थियो ।
बिमा सञ्चालनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा २० लाख, २०७६ –७७ मा ५० लाख बजेट छुट्ट्याएको थियो भने आगामी आर्थिक वर्ष २०७७–७८ का लागि १५ लाख बजेटको व्यवस्थापन गरेको छ ।
बालिका बिमा सञ्चालन गरेपछि गाउँपालिकामा हुने बालविवाह र महिला हिंसाका घटनामा कमी आएको गाउँपालिकाले दाबी गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा २१ जना र २०७६–७७ मा ६७ जना बालिकाको बिमा गरेको छ ।
बालिकालाई बिमा गर्नका लागि नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य सेवामा प्रसुती गराउनु पर्ने छ ।
जसलेगर्दा मातृ र शिशु मृत्युदरमा कमी आउने गाउँपालिकाको विश्वास छ ।
बालविवाह अन्त्य गर्ने भन्दै बजेट खर्च गरेर गरिने कोठे कार्यक्रमभन्दा गैडहवा गाउँपालिकाले सञ्चालन गरेको बालिका बिमा जस्ता कार्यक्रम दिर्घकालीन रुपमा प्रभावकारी देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्