
काठमाडौं, साउन ४ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि छलफल भएको छ ।
प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार जानु भएको हो । महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागि आइतबारको बैठक करिब तीन घण्टा चलेको थियो । शनिबार राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा पनि पौडेल र शर्मालाई पनि लगिएको थियो ।
माधव नेपालसमेतसँग मिलेर दाहालले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन खोजेपछि प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने नयाँ प्रस्ताव दाहालसमक्ष गर्नुभएको छ ।
शनिबार दुई अध्यक्षले मंसिरमा महाधिवेशन गर्ने सहमति गरेको भन्ने खबर फैलिएपछि दाहालसँग माधव नेपाललगायतका नेताहरुले आइतबार अलग्गै छलफल गर्नुभएको थियो । नेपाललगायत नेतासँग अलग्गै छलफल गरेको थाहा भएपछि ओलीले बालुवाटार डाकेर दाहालसँग फेरि छलफल गर्नुभएको हो ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको र दाहालले पनि समर्थन गरेको भन्दै अरु नेता सशंकित बनेका थिए ।
अरु नेता सशंकित बनेपछि शनिबारै आफ्नो सचिवालयबाट प्रष्टीकरण दिनुभएका दाहालले आइतबार नेपाललगायत नेतासँग छलफल गर्दै प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको बताउनुभएको थियो ।
दाहालले आफू परिबन्दमा परेर शनिबार साँझ राष्ट्रपति भवन शितल निवास जानु परेको स्पष्टीकरण नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित स्थायी समिति सदस्यहरुलाई दिनुभएको थियो ।
यो पनि,
शनिबार आफूहरुलाई थाहै नदिई किन शितलनिवास गएको भन्ने अरु नेताहरुको प्रश्नमा दाहालले, महासचिवले दुबै अध्यक्षलाई राष्ट्रपतिले बोलाएको र अर्का अध्यक्ष गैसके भनेकाले आफू पनि बाध्य भएर जानु परेको जानकारी दिनुभएको थियो ।
राष्ट्रपति विद्या भण्डारीले मिलेर समस्या समाधान गर्न आग्रह गरेको दाहालले खुमलटारमा जम्मा भएका नेतालाई जानकारी दिनुभएको हो ।
आफूलाई पाँच वर्षे कार्यकालभरि सरकार चलाउन सहयोग गरेमा चाँडै नै मंसिरमा महाधिवेशन गराएर एकल अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव प्रधानमन्त्री ओलीले गरेको समेत दाहालले अरु नेतालाई जानकारी दिनुभएको सहभागि एक नेताले बताउनुभयो ।
पछिल्ला केही महिनादेखि प्रधानमन्त्री ओली पार्टीीभित्र अल्पमतमा देखिनुभएको छ । ओलीबाहेकका अरु नेता एकातिर उभिएर उहाँलाई दुबै पद त्याग्न निरन्तर दबाब दिइरहेका छन् । उहाँ पनि राजिनामा कुनै हालतमा नदिने अडानमा हुनुहुन्छ ।
आफ्नो राजिनामा माग्ने पक्षलाई निष्प्रभावी बनाउन प्रधानमन्त्री ओलीले पनि अनेकन अस्त्र प्रयोग गरिरहनुभएको सन्दर्भमा दाहालसँग निरन्तरजसो संवाद गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्