
यज्ञराज पाण्डे (ईमेज)
काठमाडौं, साउन ४ । नेकपाका शक्तिशाली नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पदबाट राजिनामा माग्दै गोलबन्द भएपछि यसलाई तोड्न उहाँले भरमग्दूर प्रयास गर्दै आउनुभएको छ ।
तर विगतमा उहाँको आश्वानमा फसेर असन्तुष्ट बनेका नेताहरुले शनिबारको अर्ली महाधिवेशनको उहाँको नयाँ आश्वासनमा समेत शंका व्यक्त थालेका छन् ।
शनिबारको नेकपा सचिवालयको बैठकमा ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गर्ने र प्रचण्ड मौन बस्ने देखिएपछि माधव नेपाल समूह सशङ्कित बनेको हो ।
बैठकमै नेता नेपालले दुई अध्यक्षले चोचोमोचो मिलाएर समस्याले निकास नपाउने बताएपछि अहिलेको सङ्कटको निकास ओली–प्रचण्डको मिल्ति नभएकाले यसरी समाधान नखोज्न नेता नेपालले चेतावनी नै दिनुभयो ।
नभन्दै दाहालले अर्ली महाधिवेशनको भ्रम चिर्न मध्यरातमै अध्यक्षद्वयबीच सहमति नभएको प्रष्ट पार्नुभयो भने आइतबार सबेरै नेपाल समुहलाई खुमलटार बैठकमा आफू पुरानै अडानमा यथावत् रहेको स्पष्टीकरण दिनुभयो ।
मंसिरमा प्रस्तावित महाधिवेशन इन्कार गरी अब उप्रान्त सहमति लिखित रुपमा पार्टी कमिटिबाटै पारित गर्नुपर्ने अडानमा दाहाल–नेपाल समूह एकजुट भएपछि ओलीको अर्लि महाधिवेशनको कार्डमाथि नेताहरुले शंका त गरे नै अब ओलीका प्रस्तावलाई विश्वास नगर्ने स्थितिमा पुगेका छन् ।
त्यसो त विगतमा ओलीमाथि संकट पर्दा आश्वासनमा पार्दै उधारो सहमतिमा सत्ता लम्बाउने काम गरेको आरोप लाग्दै आएको छ ।
ओली र प्रचण्डबीचको आधा–आधा कार्यकाल सरकार चलाउने भित्री सहमति तुहिएर गयो भने ओलीले सरकार चलाउने र दाहालले पार्टी चलाउने सहमति पनि कार्यान्वयन नहुँदा नेकपाभित्र फेरि ओली हटाउने अभियान सशक्त रुपमा चल्यो ।
अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल र उपाध्यक्ष बामदेव गौतमसहित सचिवालयका छ जनाको घेराबन्दीमा परेका ओलीले आफूइतरका गठबन्धन भत्काउन गौतमलाई संसद्मा लैजाने आश्वासान दिनुभयो भने दाहाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउन सहयोग गर्नेदेखि माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष अनि सरकार सञ्चालनको संयन्त्रको निर्देशक बनाउने समेत आश्वासन दिनुभयो ।
तर, यसपटक कसैले पनि आश्वासन नपत्याउँदा लिखित रुपमा प्रस्ताव ल्याएर पार्टी बैठकबाट अनुमोदन गर्नुपर्ने अडानमा नेताहरु उभिएपछि ओलीलाई यसपटक भने चुनौती बढेको छ । तर ओलीपक्षका नेताहरुले भने दाहाल–नेपालको गठबन्धनले पार्टी एकता नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
विगतमा विरोधीलाई समेत आकर्षित गर्ने ओलीका उदारो आश्वासनले अहिले दाहाल–नेपाल समूहलाई भारी परेको छ ।
एकातिर ओलीले दिएका आश्वासन पूरा नहुने भन्दै ओलीइतरका नेताहरु लिखित सहमति खोज्न थालेका छन् भने अर्कातिर ओलीले दिने आश्वासनले नेपाल–दाहालको गठबन्धनमा तुषारापात ल्याउने त होइन भनी संशकित पनि बनेका छन् ।
तर विचारमा आधारित अन्तसङ्घर्ष नभएर नितान्त सत्ता स्वार्थले सिर्जना गरेको कलहले नेकपाको तरल राजनीतिक घटनाले कुन मोड लिन्छ अहिलेनै भन्न सकिने अबस्था भने छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्