१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशभरका रुग्ण पुलहरुको निर्माण सुरु गर्न विकास समितिको निर्देशन


0
Shares

काठमाडौं, साउन ४ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले देशभरका रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको निर्माण सुरु गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिको आईतबारको बैठकले देशभर रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण सुरु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी कुमारी खड्काले देशभरका रणनीतिक सडक अन्तर्गत रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी गुणस्तरीय रुपमा तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

समितिले काठमाडौंको टेकु स्थित विष्णुमती पुलको प्राविधिक पक्ष र गुणस्तरमा कमि तथा निर्णााधिन तिनकुनेको बाग्मती पूल, हुलाकी राजमाग अन्तर्गत टिकुलियामा रहेको पुलको निर्माण समयमै नसक्ने ठेकेदार कम्पनीको विवरण समितिलाई उपलब्ध गराउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनशक्ति परिपूर्ति गर्न तयार पारेको ओएनएम रिपोर्ट स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता लयाउने वातावरण निर्माण गर्न निर्देशन दिइएको सभापति खड्काले बताउनुभयो ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्राविधिक जनशक्ति अभावका कारण विकास र पूर्वाधारका काम समेत प्रभावित भएको भन्दै पदपूर्तिको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।