१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध


0
Shares

काठमाडौं, साउन ५ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर दूरीमा रहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ ।

पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट र नारायणगढ तर्फबाट लोडर परिचालन गरिएको जनाइएको छ ।

पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको जनाइएको छ ।

सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खस्न थालेको हो ।

सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् ।

पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको बताइएको छ ।

यस क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भइरहेको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटामा रोकिएका छन् ।

चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।