
काठमाडौं, साउन ६ । नेपाली सेनाले दार्चुलाको छाङरुसम्म जाने बाटो बनाउन थालेको छ । यो बाटो बनेसँगै भारतको बाटो भएर फेरि नेपाल प्रवेश गर्नुपर्ने छाङरुका बासिन्दाको बाध्यता हट्ने छ ।
सेनाले गत जेठ ८ गतेदेखि दुई मिटर चौडाइको घोडेटो बाटो बनाउन थालेकोमा अहिलेसम्म २५० मिटरको काम सकिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

४५० मिटरको उक्त घोडेटो बाटो अहिलेकै गतिमा काम हुन सकेमा एक महिना भित्र पूरा हुने उहाँको भनाइ छ ।
छाङरुबाट दार्चुला आउने बाटो नहुँदा स्थानीय बासिन्दा भारतको धार्चुला गएर आउनु पर्ने बाध्यतामा छन् । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा कम्तीमा १८० घरपरिवार छन् ।

भौगोलिक रुपले अति कठीन चट्टानयुक्त घाँटीबगर–तिंकर सडकखण्डमा ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले सो भन्दा पहिले स्थानीयका लागि घोडेटो बाटो बनाइदिन लागेको हो । मौरी भीर र घाँटीबगरमा गएको पहिरोले गर्दा छाङरुवासी निकै नै अफ्ठेरो भोगरहेका छन् ।
घोडेटो बाटो बनाइसेकपछि सेनाले दार्चुला–तिंकर खण्डको ८७ किलोमिटरमा ट्रयाक खोल्ने छ ।
नेपाल सरकारले हालै लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्शा सार्वजनिक गरेपछि छाङरुमा सुरक्षा चौकी राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्