१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘म नै सर्वेसर्वा हुँ’ भन्ने प्रवृत्तिविरुद्ध उभिन माधव नेपालको आह्वान


13
Shares

NCP madhab nepal puspalal

काठमाडौं, साउन ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसविरुद्ध दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै नेता नेपालले व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुने सम्झाउनुभएको हो ।

विज्ञप्तिमा नेपालले उल्लेख गर्नुभएको छ, ‘अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरू देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’

पुष्पलालले स्थापना गरेका पदचिह्नहरूमा दृढतापूर्वक हिँड्न सकेकै कारण आफूहरुले नेपालमा ऐतिहासिक परिवर्तन गर्न सकेको दाबी उहाँको छ ।

‘कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरूले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने उहाँको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्दै कम्युनिस्ट पार्टीहरूले विभिन्न कालखण्डमा काम गर्न सकेकै कारण आज हामीले यति विशाल पार्टी निर्माण गर्न सकेका छौँ’ नेता नेपालले थप्नु भएको छ, ‘दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर हामीले हाम्रा संस्थापक महासचिव कमरेड पुष्पलालको सपनालाई साकार मात्र पारेका छैनौँ, नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा एक कदम अघि बढाउन ठोस योगदान समेत गरेका छौँ ।’

संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक रहेको नेता नेपालले औल्याउनु भएको छ ।

‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ’, उहाँले भन्नुभएको छ ।