
काठमाडौं, साउन ७ । कोरोना भाइरस संक्रमणको त्रासमा बन्द रहेका शैक्षिक निकाय र प्रतिष्ठानहरु करिब चार महिनापछि खुल्न थालेका छन् ।
सरकारले लकडाउन अर्थात् बन्दाबन्दी खुलाएसँगै चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पसहरु बुधबारदेखि खुल्न थालेका हुन् ।
त्रिवि रजिष्ट्रार कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार बुधबारबाट सरकारले लकडाउन हटाएसँगै क्याम्पसहरू खुलेका हुन् । तर कलेजहरु खुलेपनि पठनपाठन भएको छैन ।
स्वास्थ्य सुरक्षा निर्देशिका अवलम्बन गर्दै खुलेका ती प्रतिष्ठानहरुमा नियमित पठनपाठन, पुस्तकालय सञ्चालन जस्ता कार्य भने भएका छैनन् । अरु प्रशासनिक काम भने हुन थालेको हो ।
त्रिविको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो । लकडाउनको समयमा क्याम्पसका शिक्षक, कर्मचारीलाई बिदा दिइएको थियो ।
सरकारले लकडाउन खोलेसँगै अब चैतमा स्थगित भएका स्नातक र स्नातकोत्तर तहका परीक्षा र पठनपाठन सञ्चालन कसरी गराउने भन्नेबारे छलफल थालिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्