३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबारबाट सुरु हुने


0
Shares

काठमाडौं, साउन ७ । रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबारबाट सुरु हुने भएको छ ।

गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो ।

तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन । पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले साउन १० गतेको लागि मुहूर्त जुरेको बताउनुभयो ।

सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने बताइएको छ ।

रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरूलाई गोदान गर्ने गरिन्छ ।

त्यसपछि साँझा ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।

रथयात्रा सुरु भएपछि साउन १० गते पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पुयाउने गरिन्छ ।

रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ । दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ ।

तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ ।

त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ ।

त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसको भोलिपल्ट रथलाई लगनखेलको माथिल्लो चोकमा राखेर बली दिनुपर्छ ।

रथको पाङ्ग्रालाई भैरवको स्वरूप मान्ने गरिन्छ । त्यहाँ बलि दिएपछि भोलिपल्ट बिहान ६÷७ बजे नै महिलाहरूले मात्रै तानेर रथलाई लगनखेलमा लगेर राख्ने गर्छन् ।

त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ ।

जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो देखाएकै दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ ।