
काठमाडौं, साउन ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभएको हो ।
उहाँले विमानस्थलमा डिपार्चर र अराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सुचालु गरिने बताउनुभयो ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचालु गर्ने निर्णय गरेको छ ।
तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो ।
त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने पनि उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था गरिने जनाइएको छ ।
सामान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।
विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत भने बढाउनुपर्ने भएको बताउनुभयो ।
विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने भएको उहाँले उल्लेख गर्नुभयो ।
यसका लागि विमानस्थलले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । देश भित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको पनि केसीले बताउनुभयो ।
कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्रोाटोकलहरुलाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उहाँले बताउनुभयो ।
यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्