२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउँ : सञ्चारमन्त्री खतिवडा


0
Shares

काठमाडौं, साउन ७ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउन आग्रह गर्नुभएको छ ।

सञ्चारमाध्यमलाई परेको समस्या सरकारले हेर्ने उल्लेख गर्दै उहाँले श्रमजिविहरुको हितलाई ध्यानमा राखेर निर्णय लिन आग्रह गर्नुभयो ।

अर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले संसदको विकास तथा प्रविधि समिति बैठकमा भएको छलफलमा कोभिडले परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले अहिलेको अवस्थामा सञ्चार माध्यम बन्द हुनु र कुनै पनि कर्मचारी वा पत्रकारको जागिर जानु सबैभन्दा दुःखद भएको बताउनुभयो ।

उहाँले सरकार वा अरु जुनसुकै निकायले भएपनि सञ्चारमाध्यमको पारदर्शीता कायम गर्नका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मिडियाबाट कमाएको मुनाफा मेनपावर व्यवसाय वा जलविद्युतका क्षेत्रमा समेत लगानी गरे नगरेको विषय खोज्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिर्षेर कुनै दिन नमस्कार नगर्ने कर्मचारीलाई समेत कोरोनाको कारण देखाउँदै जागिरबाट निकाल्ने घटनाहरु बाहिर आएको बताउनुभयो ।

३० औं वर्षसम्म मुनाफा कमाएका कम्पनीहरुले हामी थेग्न सक्दैनौ भनेर गरिएको व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले एकपक्षीय ढंगबाट गरेका निर्णय विरुद्ध महासंघ आन्दोलनमा उत्रेको बताउनुभयो ।

छलफलमा अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठनको चरणमा रहेका समेत बताउनुभयो ।

केही दिनभित्रै नियमावली बनाएर बोर्ड गठन हुने उहाँले बताउनुभयो ।

उहाँल चालू पूँजीको अभाव हुन नदिन मौद्रीक नीतिमा व्यवस्था गरिएको र सञ्चारमाध्यमको नविकरण दस्तुर शूल्क समेत मिनाहा गरेको बताउनुभयो ।