२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बाढीपहिरोका कारण सात राष्ट्रिय राजमार्गमा असर, कतिपय सडक तत्काल शुरु गर्न नसकिने : विभाग


0
Shares

काठमाडौं, साउन ८ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ ।

तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।

देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो ।

पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो ।

विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।

पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट-मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ ।

राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ ।

तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको छ ।

अरनिको राजमार्गमा बाह्रबिसेसम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ ।

बेनी-जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पुल बगाएको छ ।

बेनी-जोमसोम सडकमा ८/१० ठाउँमा सडक अवरुद्ध रहेको छ ।

त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ ।