३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिभिल मलका व्यापारीलाई ४ महिनाको भाडामा ५० प्रतिशत छुट


0
Shares

काठमाडौं, साउन ८ । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।

कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनाको भाडामा ५० प्रतिशत छुट, साउन, भदौ र असोज ३ महिनाको भाडामा पनि ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताउनुभयो ।

कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो ।

सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राखे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए ।

पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए ।

सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए ।

मंगलबार मध्यरातिबाट लागु हुनेगरी सरकारले लक डाउन अन्त्यको घोषणा गरिसकेको छ ।

सरकारले लक डाउन खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।