
काठमाडौं, साउन ८ । लकडाउन खुलेसँगै बजारमा चहल पहल बढेको छ ।
चार महिनासम्म घर भित्र बस्न बाध्य उपभोक्ताको अहिले बजारमा निकै भीड लाग्न थालेको छ ।
तर मालसामानको विक्रि भने उत्साहजनक नरहेको व्यवसायीहरु बताउछन् ।
त्यसमा पनि कतिपय वस्तुमा भएको मुल्य बृद्धि र उपभोक्ताको आवागमन कम हुनाले गर्दा पनि किनमेल कम भएको अनुमान छ ।
लामो दुरीका सवारी साधन संचालन हुन नसकेका कारण पनि अझै कतिपय मानिसहरु शहर फर्कन नपाएकाले पनि व्यवसायीक गतिविधि बढ्न नसकेको अनुमान व्यवसायीको छ ।
पछिल्लो समय मुलुक बाढी पहिरोको चपेटामा परेका कारण देखाउदै तरकारी लगायतका खाद्यान्नको मूल्य बृद्धि हुदा उपभोक्ता मारमा परेका छन् ।
यसमा अनुगमनकारी निकायको उपस्थिति कमजोर हुदा बिचौलियाले अझ उपभोक्ता ठग्ने मौका पाएको उपभोक्तकर्मीको आरोप छ ।
यो समयमा कतिपय भ्याट हटेका वस्तुमा पनि मूल्य बृद्धि भएको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बजारमा अत्यधिक मुल्य बढ्दा समेत नियमनकारी निकाय मौन बसेको बताउनुहुन्छ ।
लामो समय लकडाउनका कारण तरकारी, खाद्यान्न तथा लत्ताकपडामा ५ देखी १५ प्रतिशतसम्म मुल्य बढेको तिमल्सिनाको भनाई छ ।
यता उपभोक्ता पनि बजारमा खाद्य लगायतका सामग्रीको मुल्य बढेको गुनासो गर्छन् ।
लकडाउन यता बजारमा आपूर्ति निरन्तर भईरहँदा पनि गेडागुडी, फलफुल, खाद्यान्न लगायतमा मुल्य बढिरहेको उपभोक्ताहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्