
काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर सत्तारुढ नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि सुझाउनु भएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले जेल सजायँ कटौतीको फैसला गरेपछि सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएकोमा प्रतिक्रिया दिँदै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गर्नुभएको हो ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका डा. भट्टराईले ट्वीटरमा बुँदागत रुपमा आफ्ना धारणा राख्दै देश गम्भीर संकटतिर जान लागेको पनि बताउनुभएको छ ।
‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गर्नुभएको हो ।
भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि उहाँको प्रस्ताव छ ।
तर भट्टराईको यस ट्वीटमा उनको ब्यापक आलोचना गर्दै रिट्वीट र कमेन्टहरु आएका छन् । खासगरी माओवादी कालखण्डमा हत्या गरिएका निर्दोष नागरिकको जिम्मा लिन र अपराध स्वीकार्न माग गर्दै कमेन्टहरु आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्